भोजले निम्त्याएको कोरोना संकट : एकै परिवारका चारको निधन

  जेठ ०१, २०७८

बागलुङ, जेठ १ : बागलुङमा कोरोना संक्रमणको कारण एकै परिवारका चार जनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिका–४ जलजलामा कोरोना संक्रमण फैलिरहेको अवस्थामा आयोजित विवाह भोजमा सहभागी चारै जनाले कोरोनाकै कारण ज्यान गुमाएका हुन ।

बैशाख ११ गते भोजमा सहभागी सोही परिवारकी छोरी बडिगाड गाउँपालिका–५ कि ५३ वर्र्षीया महिलाले शनिबार धौलागिरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । उहाँको मृत्युसँगै एक परिवारका चार सदस्यले ज्यान गुमाउनु परेको हो ।

बैशाख १७ सोही परिवारका ज्येष्ठ सदस्य ८७ बर्षिय पुरुष, बैशाख ३० गते ४० बर्षिय छोरा र बैशाख ३१ गते ५१ बर्षिय एक छोराको पोखरा स्थित मणीपाल शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । दश दिनको अवधिमा एकै परिवारका चार सदस्यले कोरानाकै कारण ज्यान गुमाए पछि गाउँ नै शोक मग्न भएको स्थानीय विष्णु भुषालले जानकारी दिनुभयो ।

मृतक सबैमा कोभिड–१९ र निमोनियाको समस्या देखिएको थियो । वैशाख ११ गतेको भोज खाएकाहरुमा साता दिन भित्र ज्वरो आउने, रुघाखोकी लगायतका लक्षण देखिन थालेको थियो । बिबाहमा सहभागी भएका मध्ये एकै परिवारका चार जना सहित अरु दुई जनाको समेत मृत्यु भएको छ । अझै केही अस्पतालमा उपचाररत छन । केही घर घरमै बिरामी परेको भुषालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया