काठमाडौं उपत्यकामा एकैदिन ६८ सङ्क्रमितको मृत्यु

  जेठ ०१, २०७८

काठमाडौं, जेठ १ : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६८ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा ६८ जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । देशभरि २४ घण्टामा १८७ सङ्क्रमितको मृत्यु भएको छ । 

कोभिड १९ सम्बन्धी दैनिक विवरणमा मन्त्रालयले उल्लेख गरे बमोजिम काठमाडौंमा २४ घण्टामा ४६, ललितपुरमा १४ र भक्तपुरमा आठ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । काठमाडौंमा कोरोना सङ्क्रमणबाट हालसम्म एक हजार १०१, ललितपुरमा २९७ र भक्तपुरमा २१७ जना सङ्क्रमितको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा दुई हजार ९३७ जना सङ्क्रमित थपिएका छन् । काठमाडौंमा दुई हजार १४६, ललितपुरमा ४४४ र भक्तपुरमा ३४७ जनामा सङ्क्रमणको पुष्टि भएको छ । देशैभरि पछिल्लो २४ घण्टामा आठ हजार ४६ सङ्क्रमित थपिएका छन् ।
मन्त्रालयले जनाए अनुसार काठमाडौंमा हाल ३० हजार १२४ जना सक्रिय सङ्क्रमित छन् । ललितपुरमा सात हजार १०१ र भक्तपुरमा पाँच हजार सक्रिय सङ्क्रमित छन् । काठमाडौं जिल्लामा पछिल्लो २४ घण्टामा सक्रिय सङ्क्रमितको सङ्ख्यामा कमी आएको छ । काठमाडौंमा शुक्रबारसम्म सक्रिय सङ्क्रमित ३० हजार ४५२  थिए ।

काठमाडौंमा हालसम्म एक लाख ६१ ह्जार १३७ जना सङ्क्रमितको पुष्टि भएकोमा एक लाख २९ हजार ९१२ जना कोरोनामुक्त भएका छन् । ललितपुरमा हालसम्म २७ हजार ३२७ जना सङ्क्रमित भएकोमा १९ हजार ९२९ जना निको भएको र भक्तपुरमा १६ हजार २५० जना सङ्क्रमित भएकोमा ११ हजार ३३ जना कोरोनामुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया