काठमाडौं, जेठ १ : अक्सिजन सिलिण्डरको अभाव बढ्दै गएपछि तत्काल जरुरी सिलिन्डर ल्याउन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज शनिबार बिहान ओमानतर्फ प्रस्थान गरेको छ ।
निगमका प्रबन्धक निर्देशक डिमप्रसाद पौडेलका अनुसार गैरआवासीय नेपाली सङ्घ र मस्कटस्थित नेपाली दूतावासको सहयोगमा जुटाइएको ५६० थान अक्सिजन सिलिन्डर ल्याउन जहाज ओमन उडेको बताउनुभयो । मस्कट विमानस्थलमा राखिएको सिलिन्डर लिएर जहाज आज (शनिबार) साँझ साढे ६ बजे काठमाडौं आइपुग्ने उहाँले बताउनुभयो ।
६३ हजार सात सय डलरमा ती अक्सिजन सिलिन्डर खरिद गरिएको र सिलिन्डर ढुवानी खर्च सरकारले व्योहोर्ने भएको छ । नेपाल एयरलाइन्सको ओमान उडान यो पहिलो भएको प्रबन्धक निर्देशक पौडेललाई उद्धृत गर्दै गोरखापत्र अनलाइनले जनाएको छ ।






