कोरोना भाइरस संक्रमण घट्दै, मृतक बढ्दै

  बैशाख ३१, २०७८

काठमाडौँ, वैशाख ३१ : कोरोना (कोभिड–१९) सङ्क्रमणमा अघिल्लो दिनको तुलनामा सामान्य कमी आएको छ । मृत्यु हुनेको सङ्ख्या बढेको छ । बिहीबार थप आठ हजार ९६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने २१४ जनाको ज्यान गएको छ । अघिल्लो दिन नौ हजार ३०५ मा सङ्क्रमण देखिएको थियो भने १६८ को ज्यान गएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १९ हजार ४७४ जनाको पीसीआर र ७७१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । बिहीबार थपिएका सङ्क्रमितसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख पाँच हजार २०७ पुगेको छ । यस्तै क्वारेन्टाइनमा ४९७ जना छन् । मन्त्रालयका अनुसार एक हजार ३८१ आईसीयू र ३८० भेन्टिलेटरमा गरी एक हजार ७६१ जना सङ्क्रमित उपचाररत छन् । बिहीबार थप पाँच हजार ५५ जना सङ्क्रमित निको भएका छन् । हाल निको हुने दर ७४ दशमलव छ प्रतिशत रहेको छ ।

विगत २४ घण्टामा थप २१४ जना सङ्क्रमितको मृत्युसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या चार हजार ४६६ पुगेको छ ।मन्त्रालयका अनुसार प्रदेश १ मा १८० आईसीयू र ५३ भेन्टिलेटरमा, प्रदेश २ मा १७९ आईसीयू र ४३ जना भेन्टिलेटरमा छन् । यस्तै बागमती प्रदेशमा ६३८ आईसीयू र २३१ जना भेन्टिलेटरमा छन् ।

गण्डकी प्रदेशमा ८८ जना आईसीयू र १८ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १३६ जना आईसीयू र १३ जना भेन्टिलेटरमा, कर्णालीमा ११० जना आईसीयू र आठ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ५० जना आईसीयू र १४ जना भेन्टिलेटरमा छन् । काठमाडौँ उपत्यकाका अस्पतालमा २९७ जना सङ्क्रमित आईसीयू र भेन्टिलेटरमा छन् भने एक हजार ८४३ जना आइसोलेसनमा छन् ।

काठमाडौँ उपत्यकामा एकै दिन तीन हजार ५६२ जना कोरोना सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौँमा दुई हजार ७३३ सङ्क्रमित थपिएका छन् । ललितपुरमा ४८१ र भक्तपुर जिल्लामा ३४८ जना सङ्क्रमित थपिएका छन् ।

तपाईको प्रतिक्रिया