कोरोना सङ्क्रमणमा पनि विप्रेषण वृद्धि

  बैशाख ३०, २०७८

काठमाडौँ, वैशाख ३० : कोरोना सङ्क्रमणले अर्थतन्त्रका कतिपय क्षेत्र सामान्य अवस्थामा नफर्कंदै नेपाल भित्रिने विप्रेषण भने नियमितजस्तै बढेको छ । नेपाल राष्ट्र बैङ्कले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७/७८ को नौ महिना अर्थात् चैतसम्मको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार उक्त अवधिमा सात खर्ब २९ अर्ब रुपियाँ विपे्रषण नेपाल भित्रिएको छ ।

यो अघिल्लो आवको सोही अवधिको तुलनामा १६.५ प्रतिशतले बढी हो । गत चैतमा भने विपे्रषण आप्रवाह ४.२ प्रतिशतले घटेको थियो । विप्रेषण आप्रवाहमा वृद्धि देखिए पनि समीक्षा अवधिसम्म वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने भने ६६.७ प्रतिशतले घटेका छन् । त्यस्तै पुनः श्रम स्वीकृति लिने पनि ५५.७ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ ।

नियन्त्रणमै मुद्रास्फीति
प्रतिवेदनले नौ महिनासम्म उपभोक्ता मुद्रास्फीति ३.१० प्रतिशत मात्र रहेको जनाएको छ । जुन अघिल्लो चैतमा ६.७४ प्रतिशत थियो अर्थात् चालू आवको समीक्षा अवधिमा मूल्य वृद्धि नियन्त्रणमै रहेको तथ्याङ्कले देखाएको छ । गत वर्षको तुलनामा खासगरी घिउ तथा तेल, मासु तथा माछा, सुर्तिजन्य पदार्थ र गैरमदिराजन्य पेय पदार्थको मूल्य बढेको छ । क्षेत्रगत रूपमा सबैभन्दा धेरै पहाडी क्षेत्रमा ३.३८ प्रतिशतको मूल्य वृद्धि रहेको छ । त्यसपछि क्रमशः काठमाडौँ उपत्यकामा ३.२४, तराईमा २.९२ र हिमालमा सबैभन्दा कम १.५४ प्रतिशतको मात्र मूल्यवृद्धि भएको देखिन्छ ।

वैदेशिक व्यापार सुधारोन्मुख
समग्र वैदेशिक व्यापारको अवस्था सुधारोन्मुख नै रहेको प्रतिवेदनले देखाएको छ । चैतसम्म निर्यात २०.२ प्रतिशतले बढेर ९४ अर्ब ७७ करोड रुपियाँ पुगेको छ । त्यस्तै आयात १३.१ प्रतिशतले बढेर ११ खर्ब ११ अर्ब रुपियाँ नाघेको छ । वस्तुगत आधारमा सोयाबिन तेल, अलैँची, जुटका सामान, धागो, पस्मिनालगायतका वस्तुको निर्यात बढेको छ भने यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाबिन तेल, एमएस बिलेट, चामल र दूरसञ्चारका उपकरण तथा पार्टपुर्जाको आयात बढेको छ । आयातको आकार बढ्दा कुल व्यापार घाटा पनि १२.५ प्रतिशतले बढेर १० खर्ब १६ अर्ब रुपियाँ नाघेको छ । अघिल्लो चैतसम्म यस्तो घाटा केवल ८.९ प्रतिशतले मात्र बढेको थियो ।

खर्च र राजस्व उस्तै
चैतसम्म सरकारको खर्च र राजस्व उस्तैउस्तै देखिएको छ । प्रतिवेदनअनुसार उक्त अवधिसम्म सरकारले छ खर्ब ९० अर्ब रुपियाँ खर्च गरेको छ । यसमध्ये पाँच खर्ब २६ अर्ब चालू खर्च, एक खर्ब पाँच अर्ब पुँजीगत खर्च र ५७ अर्ब ५९ करोड रुपियाँ वित्तीय खर्च गरेको छ । सोही अवधिमा प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकमसमेत गरेर कुल छ खर्ब ८४ अर्ब रुपियाँ राजस्व परिचालन भएको छ । समीक्षा अवधिमा चालू खाता दुई खर्ब सात अर्ब रुपियाँले घाटामा जाँदा शोधनान्तर अवस्था भने ४२ अर्ब ५४ करोड रुपियाँले बचत देखिएको छ ।

कोरोना सङ्क्रमणकै कारण भ्रमणबापत नेपालले प्राप्त गर्ने आम्दानी र नेपालबाट बाहिरिने रकम दुवै घटेको छ । भ्रमण आय ९०.२ प्रतिशतले कमी आई पाँच अर्ब ५४ करोड रुपियाँमा सीमित भएको छ । अघिल्लो चैतसम्म यस्तो आय ५६ अर्ब ६८ करोड रुपियाँ थियो । भ्रमणबापत हुने खर्च पनि ४७ प्रतिशतले घटेर २६ अर्ब ७५ करोड रुपियाँ कायम भएको छ ।

विदेशी विनिमय सञ्चिति राम्रो
चैतसम्मको नेपालको कुल विदेशी विनिमय सञ्चिति गत असारको तुलनामा २.२ प्रतिशतले बढेर १४ खर्ब ३३ अर्ब २७ करोड रुपियाँ पुगेको छ । यसमध्ये नेपाल राष्ट्र बैङ्कमा १२ खर्ब २६ अर्ब १२ करोड र बैङ्क तथा वित्तीय संस्थामा एक खर्ब ८० अर्ब १० करोड रुपियाँ पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिलाई आधार मान्दा करिब एक वर्षकै वस्तु आयात धान्न पर्याप्त हुने प्रतिवेदनमा उल्लेख छ । 

तपाईको प्रतिक्रिया