पाकिस्तानमा महामारीका समय २०० कोभिड–१९ सङ्क्रमित चिकित्सकको मृत्यु

  बैशाख ३०, २०७८

कराँची, बैशाख २९ : महामारी शुरू भएदेखि मङ्गलबारसम्म २०२ चिकित्सकको कोभिड–१९ सङ्क्रमणका कारण मृत्यु भएको पाकिस्तान मेडिकल एसोसिएसन (पीएमए) बाट बुधबार जारी विज्ञप्तिमा भनिएको छ ।

पीएमएले कोरोनाभाइरसबाट निधन भएका २०० भन्दा बढी डाक्टरहरूको परिवारलाई क्षतिपूर्ति ‘शुहुदा प्याकेज’ दिन पाकिस्तानी सरकारसँग आग्रह गरेको पाकिस्तानबाट प्रकाशन हुने अङ्ग्रेजी पत्रिका ‘द न्युज इन्टरनेसनल’ले जनाएको छ । यसमध्ये ७४ चिकित्सकहरू पञ्जाब राज्यका रहेका थिए भने ६४ सिन्धका थिए ।

कोरोनाभाइरसका कारण निधन भएका चिकित्सकमध्ये ५३ जना खैबर पख्तूङ्ख्वाका रहेका छन् भने पाँच बालोचिस्तान र तीन चिकित्सक पाकिस्तान प्रशासित कश्मीर ९पीओके० का एक गिलगित–बाल्टिस्तानका रहेका ‘द न्युज इन्टरनेसनल’को रिपोर्टमा उल्लेख छ ।

मृतकमध्ये २४ मेडिकल अधिकृत, १९ चिकित्सक र १३ बालरोग विशेषज्ञ तथा केही नाक, कान, घाँटी विशेषज्ञलगायतका चिकित्सकको अग्रमोर्चामा रहेर काम गर्ने शिलशिलामा मृत्यु भएको पीएमएले जानकारी गराएको छ ।

पीएमएले मृतक स्वास्थ्यकर्मीले अग्रमोर्चामा रहेर काम गर्ने शिलशिलामा सङ्क्रमित भई ज्यान गुमाएका भन्दै उनीहरूका परिवारजनलाई ‘सुहुदा प्याकेज’ उपलब्ध गराउन आग्रह गरेको छ । पाकिस्तानी तथ्याङ्क अनुसार बुधबार पाकिस्तानमा दुई हजार ८६९ व्यक्ति सङ्क्रमित भएका र सङ्क्रमण दर ७.४२ प्रतिशत रहेको बताइएको छ ।

पाकिस्तानमा सक्रिय सङ्क्रमितको सङ्ख्या ७६ हजार ५३६ रहेको र अहिलेसम्म सात लाख ७१ हजार ६९२ व्यक्ति कोभिड–१९ बाट सङ्क्रमणमुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया