राष्ट्रियसभा उम्मेदवारलाई चुनाव चिन्ह, थापालाई सूर्य

  बैशाख ३०, २०७८

हेटौँडा, वैशाख २९ : राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिएको छ । बागमती प्रदेशको अन्य समूहबाट निर्वाचित हुने रिक्त राष्ट्रिय सभा सदस्यका उम्मेदवारहरुलाई निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरेको हो ।

बुधबार अपरान्ह राष्ट्रिय सभा सदस्य उपनिर्वाचन बागमती प्रदेशको कार्यालयले हेटौँडामा अन्तिम नामावली प्रकाशनसँगै रामबहादुर थापा बादललाई सूर्य, कृष्णबहादुर तामाङलाई मादल र स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटालाई कलम चुनाव चिन्ह प्रदान गरेको छ ।

आगामी जेठ ६ गते हुने निर्वाचनका लागि बादलले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट, देवकोटाले स्वतन्त्र रुपमा र तामाङले नेपाल मजदूर किसान पार्टी (नेमकिपा) को तर्फबाट गत शुक्रबार उम्मेदवारी दर्ता गराउनुभएको थियो ।

बागमती प्रदेशबाट २०७४ फागुनमा भएको राष्ट्रियसभा निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट विजयी बन्नुभएका थापा एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य पद रिक्त गराएको हो ।

सङ्घीयता विद् देवकोटालाई नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एमाले) को माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टी (जसपा) को समेत समर्थनसहित साझा उम्मेदवारका रुपमा अघि सारिएको छ ।

बागमती प्रदेशको प्रदेश सभा सदस्य ११० जना र ११९ स्थानीय तहका गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख सहित २३८ जना गरी ३४८ मतादाता रहने छन् ।

तपाईको प्रतिक्रिया