खोप अभियान पुनः सञ्चालन हुने : स्टक कोभिसिल्ड पनि प्राथमिकता तोकेर ७७ जिल्ला पठाइने

  बैशाख २९, २०७८

काठमाडौं, वैशाख २९ : नयाँ भेरियन्टको कोरोनाभाइरस (कोभिड–१९) महामारीको गम्भीर चपेटामा परेको बेला अवरुद्ध बनेको खोप अभियान पुनः सञ्चालनमा आउने भएको छ । चीन सरकारले उपलब्ध गराएको भेरोसिल खोप जेठ २ गतेबाट र स्टकमा रहेको भारतबाट ल्याइएको कोभिसिल्ड खोपको दोस्राे मात्रा (डोज) पनि चाँडै नै शुरु गर्ने स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा.झलक गौतमले बताउनुभयो ।

गौतले करिब पाँच लाख मानिसले मात्र दोस्रो मात्रा लगाउन पाएका छन् भने अधिकांशले पहिलो मात्रा लगाएको बताउँदै अब सरकारले आफ्नो स्टकमा बाँकी रहेको कोभिसिल प्राथमिकता तोकेर ७७ वटै जिल्लामा पठाउन लागेको प्रमुख गौतमले बताउनुभयो । उहाँले थोरै थोरै मात्रामा भए पनि जिल्लामा खोप पठाउने र चाँडै खोप अभियान फेरि सूचारु गर्ने बताउनुभयो । नेपालका सातै प्रदेशमा माघ १४ गतेदेखि कोभिड खोप लगाउन शुरु गरिएको थियो । भारतले सहयोगमा दिएको १० लाख मात्रा कोभिसिल स्वास्थ्यकर्मीहरूलाई लगाएर पहिलो चरणको खोप अभियान शुरु गरिएको थियो ।

कोरोना महामारी पुनः तीव्र रुपमा बढ्दै गइरहेको बेला खोप केन्द्रहरुमा भीड देखिएपछि वैशाख १५ गतेपछि खोप अभियान केही दिनका लागि स्थगित गरिएको थियो । खोप शाखाका प्रमुख गौतमले जेठ २ गतेदेखि चिनियाँ भेरोसेल खोपको दोस्रो मात्रा लगाउन शुरु गर्र्ने बताउनुभयो । पहिलो मात्रा लगाएका दुई लाख ८८ हजार मानिसलाई अब दोस्रो मात्राको खोप लगाइने प्रमुख गौतमले बताउनुभयो ।

उक्त चिनियाँ खोप गत चैत तेस्रो सातादेखि काठमाडौं, भक्तपुर, ललितपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लामा वितरण गरिएको थियो । यिनै जिल्लामा पहिलो मात्रा लगाएका मानिसलाई अब दोस्रो मात्रा लगाइनेछ भने यसको नेतृत्व यिनै जिल्लाहरुले गर्नेछ ।
‘दोस्रो मात्राको खोप ४० देखि ५९ वर्षका लाई दिइने भनेका थियौं,’ उहाँले भन्नुभयो, ‘तर, पहिलो मात्राको खोप १८ वर्षमाथिका व्यक्तिले पनि लगाउनभएकोले ज जसले पहिलो मात्राको खोप लगाउनुभएको छ उहाँहरुलाई मात्रै हो ।’

अघिल्लो साता विश्व स्वास्थ्य सङ्गठनले आपत्तकालीन प्रयोगको अनुमति दिएको भेरोसेल खोप चीनले नेपाललाई आठ लाख मात्राको खोप अनुदानमा दिएको थियो । उहाँका अनुसार खोप लगाउने बेलामा भिडभाड नहोस् भन्ने हिसाबले केन्द्रहरुको सङ्ख्या बढाइने, दैनिक कोटा तोकिने र स्थानीय जनप्रतिनिधि तथा स्वयंसेवकहरुको सहयोग लिइनेछ । यसैगरी भारतको सीरम इन्स्टिट्यूटले उत्पादन गरेको कोभिशील्ड खोप अभावका कारण नेपालमा दोस्रो मात्रा लगाउने योजना अनिश्चित बनेको छ ।

कोभिसिल्ड खोप भारत सरकारको अनुदानमा १० लाख, सिरम इन्स्टिच्यूटसँग किनेको १० लाख र खोपसम्बन्धी विश्वव्यापी अभियान ‘कोभ्याक्स’बाट उपलब्ध भएको तीन लाख ४८ हजार गरी अहिलेसम्म झण्डै साढे २३ लाख कोभिसिल्ड खोप नेपाल भित्रिएको छ । भारतीय सेनाले नेपाली सेनालाई छुट्टै १ लाख मात्रा कोभिशील्ड खोप पनि दिएको छ ।

तपाईको प्रतिक्रिया