स्वयसेवी नर्स : घरमा रहेका संक्रमितलाई निःशुल्क सेवा दिदैँ

  बैशाख २९, २०७८

बागलुङ, वैशाख २९ : कोरोना संक्रमणको दोस्रो लहर सुरु भए पछि अस्पतालका बेडहरु भरिएका छन् । अधिकांश संक्रमित घरमै बसेका छन् । उपचारमा संलग्न स्वास्थ्यकर्मी नै संक्रमित हुन थालेपछि बिरामीको उपचार गर्न कठिन भएको परिस्थितीमा बागलुङकी एक नर्सले स्वयसेवी ढंगबाट कोरोना संक्रमित भई घरमै बसेका बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा दिन थाल्नुभएको छ ।

बागलुङ नगरपालिका–१ रामरेखा निवासी स्टाफनर्स नितु खडकाले कुनै पनि सेवा शुल्क नलिएर कोरोना संक्रमितको घरघरमा पुगेर स्वास्थ्य सेवा सुरु गर्नुभएको हो । खडकाले बिरामीको आवश्यक स्वास्थ्य परीक्षण गर्नुका साथै एकान्तवासमा लामो समय एक्लै रहँदा हुन सक्ने मानसिक तनाम कम गर्ने विधी र आवश्यक मनोमरामर्श दिएको बताउनुभयो । उहाँ हाल कुनै पनि स्वास्थ्य संस्थामा कर्मचारीको रुपमा आवद्ध रहनुभएको छैन । कोरोनाको पहिलो लहर सुरु हुँदा खडका ताराखोला गाउँपालिकाको अस्थायी कोभिड अस्पतालमा रहेर ६ महिना बिरामीको उपचारमा संलग्न हुनुभएको थियो ।

‘मैले सिकेको ज्ञान सिप निःशुल्क प्रयोग गर्न थालेको हो’ उहाँले भन्नुभयो–‘संंकटको बेला आर्थिक लाभ भन्दा पनि स्वयमसेवा महत्वपूर्ण हुन्छ ।’ संकटलाई सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्न टार्न सकिने नर्स खडकाको भनाई छ । उहाँले बैशाख २१ गतेदेखि सार्वजनिक घोषण गरी निःशुल्क सेवामा खटिनु भएको थियो ।

हाल बागलुङ नगरपालिका–१ का ६ र संस्थागत आइसोलेनमा बसेका एक गरी सात जना संक्रमितको स्वास्थ्य परीक्षणको साथै मनोमरामर्श दिनुभएको छ । केही बिरामी निको भएका छन । सामाजिक सञ्जालमार्फत निःशुल्क सेवा गर्न सार्वजनिक गरे पछि बागलुङको अलाव काठमाण्डौ, भरतपुरका बिरामीका आफन्तले पनि टेलिफोन गरी आफ्ना संक्रमित सदस्यलाई परामर्शको लागि अनुरोध गरेको खडकाले जानकारी दिनुभयो । ‘बिरामीको प्रतिक्रियाले सेवामा लाग्न प्रेरणा मिलेनको छ’ उहाँले भन्नुभयो, ‘महामारीको अवधिमा निःशुल्क सेवामा लागि रहन्छु ।’

बिएमए नर्स रहनुभएकी खड्काले यस अघि वेयलनेश नेपालका तर्फबाट नेपालमै पहिलो पटक प्राथमिक उपचार सामाग्री प्रत्येक घर घरमा पु-याउने अभियान चलाउनुभएको थियो । उहाँले तीन बर्ष अघि बागलुङका विभिन्न संघ संस्थासँगको सहकार्यमा विद्यालय, सवारी साधन तथा घरघरमा प्राथमिक उपचार सामग्री वितरणको अभियान समेत चलाउनु भएको थियो । बिरामीको स्वास्थ्य परीक्षणमा प्रोटेकल अनुसारकै स्वास्थ्य सामग्री प्रयोग गर्ने उहाँले बताउनुभयो ।

आर्थिक अवस्था बलियो भएका बिरामीका आफन्तले आफै पिपिईको व्यवस्था गर्छ । कमजोर अवस्था भएका बिरामीको सेवामा जाँदा आफै व्यवस्थापन गर्ने खडकाको भनाई छ । घरमा रहेका संक्रमितलाई ज्वरो, रुघाखोकी, ढाँड दुखाई, भिटामिन सीको कमी लगायतका समस्या देखिएको र सोही अनुसार औषधि सिफारिस गर्ने गरेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया