सिस्नु र अल्लोबाट कपडा

  बैशाख २९, २०७८

सिन्धुपाल्चोक, वैशाख २९ : सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–२, चोकटीका थामी महिलाले सिस्नु र अल्लोबाट कपडालगायतका सामग्री बनाउन थालेका छन् ।

उनीहरूले कोट, झोला, जर्सी, स्विटर, फेङ्गा, साइट ब्याग, हाते ब्यागलगायतका हस्तकलाका सामग्री सिस्नु र अल्लोबाट बनाएका छन् । तीन वर्षअघि इसार्ड नामक गैरसरकारी संस्थाले तालिम दिएपछि थामी महिलाले सिस्नु र अल्लोबाट कपडा बनाउने सीप जानेका हुन् ।

थामी समुदायका महिलाको सीप प्रवद्र्धन गर्न त्रिपुरासुन्दरी गाउँपालिका–२ ले तीन लाख रुपियाँ सहयोग गरेको छ । वडाध्यक्ष मानबहादुर थामीले गरिब महिलाको दैनिक जीवनमा परिवर्तन ल्याउन सहयोग गरेको बताउनुभयो ।

स्थानीय भेषभूषा उत्थान समूहमा आबद्ध महिलाले कपडा बनाउने काम गरी मनग्गे आम्दानी लिन थालेका छन् । महिलाले सिस्नु र अल्लोबाट बनाएका कपडा दोलखासँगै राजधानीलगायतका जिल्लामा माग बढ्दो छ । कोरोना भाइरस सङ्क्रमणको जोखिमका बीच समेत चोकटीका महिलाहरू सिस्नु र अल्लोबाट कपडा बनाउने काममा व्यस्त छन् ।

स्थानीय कल्पना थामीले विपन्नता कारण थामी महिलाले सिस्नु र अल्लोबाट कपडा बनाउने कामलाई व्यावसायिक बनाउन नसकेको भन्दै तीनै तहको सरकारले उनीहरूलाई प्रोत्साहित गर्न अनुदानलगायतका सहयोग गर्नु आवश्यक भएको औँल्याउनुभयो ।

तपाईको प्रतिक्रिया