होटल व्यवसायी समस्यामा

  बैशाख २९, २०७८

नवलपरासी, वैशाख २९ : कोभिड–१९ का कारण गत वर्ष ठूलो आर्थिक नोक्सानी बेहोरेका पूर्वी नवलपरासीका होटल व्यवसायी अहिले ठूलो समस्यामा परेका छन् । होटल व्यवसाय गर्नका लागि ठूलो रकम लगानी गरिए पनि गत वर्षको थिलथिलोबाट उठ्न नपाउँदै फेरि उही समस्या दोहोरिएपछि लगानीकर्ता समस्यामा परेका हुन् ।

साढे छ करोड रुपियाँको लागतमा झाँक्रे र धौबादीमा पर्यटकीय होटल सञ्चालन गर्नुभएका नारायण भण्डारीले अहिले बैङ्कको ब्याजसमेत तिर्न नसक्ने अवस्थामा पुगेको बताउनुभयो । जिल्लामै नमुना होटलका रूपमा सुविधा सम्पन्न पूर्वाधार निर्माण गरे पनि बन्दाबन्दीका कारण ठूलो नोक्सानी बेहोर्नुपरेको भण्डारीले बताउनुभयो ।

पूर्वी नवलपरासीमा ठूला–साना गरी करिब तीन हजार होटल रहेका छन् । होटल व्यवसायी सङ्घका अध्यक्ष सन्तोष रानाले बन्दाबन्दीका कारण मासिक २५ करोड रुपियाँ बराबरको क्षति बेहोर्नुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया