पूर्व रानी कोमलको स्वास्थ्य सुधार, अक्सिजनको मात्रा घटाइयो, ज्ञानेन्द्र काेराेनामुक्त

  बैशाख २८, २०७८

काठमाडौं, वैशाख २८ : कोरोना संक्रमणका कारण नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्व रानी कोमल शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको छ ।

कोरोना संक्रमण भई १८ दिनअघि नर्भिक अस्पतालमा भर्ना हुनुभएको शाहलाई त्यसको केही दिनपछिदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । उहाँको अवस्थामा सुधार भएपछि केही दिनअघिदेखि नै आइसियूबाट वार्डमा सारेर उपचार जारी राखिएको छ ।

पछिल्लो समय उहाँलाई दिइँदै आएको अक्सिजनको मात्रा समेत घटाउँदै लगिएको छ । उहाँको अवस्थामा दैनिक र क्रमिक सुधार भइरहेको छ ।

यसैगरी, पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्थामा निकै सुधार भएको छ । उहाँको दुई दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको रिपोर्ट नेगेटिभ आएको छ । पूर्व अधिराजकुमारी प्रेरणा शाहको कोरोना रिपोर्ट यसअघि नै नेगेटिभ आइसकेको छ ।

स्वाब रिपोर्ट नेगेटिभ आएपछि लगातार अक्सिजनकै सपोर्टमा उपचार गराइरहनुभएका पूर्व राजा शाहलाई अक्सिजन दिन छाडिएको छ । उहाँको अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया