भूमध्यसागर पार गरेर १,२०० आप्रवासी इटाली पुगे

  बैशाख २७, २०७८

रोम, वैशाख २७ : भूमध्यसागर पार गरेर आइतबार एक हजार २०० भन्दा बढी आप्रवासी इटालीको सानो द्वीप लाम्पेडुसा आइपुगेका छन् । १२ घण्टाको अन्तरालमा धेरैवटा निकै कमजोर, खचाखच मानिसले भरिएका माछा मार्ने डुङ्गाको सहारामा उनीहरु इटाली आइपुगेको अधिकारीहरुले बताएका छन् ।

लाम्पेडुसाका मेयरले मानव तस्करले आजभोलिको शान्त र न्यानो भूमध्यसागरको फाइदा उठाउँदै ठूलो सङ्ख्यामा आप्रवासी इटाली पठाएको बताउनुभएको छ । लाम्पेडुसाका मेयर साल्भाटोर मार्टेल्लोले आप्रवासीको पहिलो टोली बिहान ५ बजे इटाली आइपुगेको जानकारी दिनुभयो । यस वर्ष इटालीको तटीय शहरमा एकै दिन यति ठूलो सङ्ख्यामा आप्रवासी आइपुगेको यो पहिलो घटना हो ।

मेयर मार्टेल्लोले प्रधानमन्त्री मारियो ड्रागीसमक्ष कोभिड–१९ महामारीका कारण इटालीको अर्थतन्त्रमा परेको असर र सामाजिक पुनर्जीवनलाई मात्र बढी ध्यान केन्द्रित नगरी आप्रवासनलाई पनि प्राथमिकतामा राख्न अपिल गर्नुभएको छ । अपराह्नसम्ममा आप्रवासीले खचाखच भरिएका कम्तीमा नौ वटा डुङ्गा लाम्पेडुसामा आइपुगेका थिए । यहाँ आप्रवासीको दर्ता र शरणका लागि अनुरोध गर्ने व्यवस्था छ ।

इटालीका संचार माध्यमहरुले भूमध्यसागरमा केही माइलभित्र देखापरेका यी डुङ्गालाई इटालीका तटरक्षकले लाम्पेडुसा द्वीपतर्फ ल्याएका थिए । लाम्पेडुसा खासगरी पर्यटन र माछा मार्न प्रख्यात टापु हो । यो ठाउँ इटालीको मुख्य भूभागभन्दा निकै टाढा, तर उत्तरी अफ्रिकासँग बढी नजिक छ ।

सिसिलीस्थित एक अखबार इल जियोरनाल डी सिसिलियाले आप्रवासीहरु काठ वा धातुले बनेको डुङ्गामा चढेर आएको लेखेको छ । यीमध्ये अधिकांश आप्रवासीहरु बंगलादेश र ट्युनिसियाबाट आएको बताइएको छ । अधिकांश आप्रवासी पुरुषहरु रहे पनि केही महिला र बालबालिका पनि छन् । शरणार्थीहरुले इटाली हुँदै युरोपका अन्य देशमा शरण लिने गरेका छन् ।

तपाईको प्रतिक्रिया