अफगानिस्तानमा फेरि १३ जना सर्वसाधारण मारिए, ३७ जना घाइते

  बैशाख २७, २०७८

काबुल, बैशाख २७ : युद्धग्रस्त मुलुक अफगानिस्तानको जाबुल र परवान प्रान्तमा भएका दुई अलग अलग विस्फोटमा १३ जना सर्वसाधारणको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार भएका यी विस्फोटमा अरु ३७ जना घाइते भएका छन् ।

अफगानिस्तानको गृह मन्त्रालयका अनुसार जाबुलमा ११ जना सर्वसाधारणको ज्यान गएको छ भने २८ जना घाइते भएका छन् । सडक किनारामा बिछ्याइएको बारुदी सुरुङ विस्फोटबाट सर्वसाधारण हताहत भएका हुन् ।

आइतबार बेलुकीपख जाबुलको शहर–ए–साफा जिल्लामा एउटा यात्रुबाहक बसलाई लक्षित गरी उक्त बिस्फोटन भएको मन्त्रालयले जनाएको छ । यसैगरी, सोमबार बिहान परवान प्रान्तको पुल–ए–मटाक क्षेत्रमा पनि यात्रुबाहक बसलाई लक्षित गरी बारुदी सुरुङ बिस्फोट गराउँदा दुई जनाको मृत्यु भएको छ भने अरु नौ जना घाइते भएका छन् ।

परवान अस्पतालका प्रमुख डा कासिम साङ्गिनले घाइतेहरुलाई नजिकका अस्पतालमा भर्ना गरिएको जानकारी दिनुभयो । उक्त घटनामा महिला र बालबालिका बढी घाइते भएका छन् । सरकारी पक्षले उक्त घटनाहरु तालिबान विद्रोही समूहले गराएको आरोप लगाए पनि तालिबान समूहले कुनै प्रतिक्रिया जनाएको छैन ।

तपाईको प्रतिक्रिया