राष्ट्रिय ट्रमा सेन्टर कोभिड–१९ डेडिकेटेड अस्पताल

  बैशाख २७, २०७८

काठमाडौँ, वैशाख २७ : राष्ट्रिय ट्रमा सेन्टर कोभिड–१९ डेडिकेटेड अस्पतालका रुपमा सञ्चालन भएको छ । सरकारको निर्णयानुसार कोभिड–१९ सङ्क्रमितको उपचारका लागि सेन्टर डेडिकेटेड अस्पतालका रुपमा सञ्चालन भएको हो ।

सेन्टरका निर्देशक डा सन्तोष पौडेलले सङ्क्रमितको उपचारका लागि अस्पताललाई कोभिड–१९ अस्पतालका रुपमा सञ्चालन गरिएको बताउनुभयो । यसअघि गत वर्ष पनि सङ्क्रमणको महामारी चलेका बेला सेन्टरले कोभिड–१९ का बिरामीलाई मात्र उपचार गरेको थियो ।

अहिले ५० शय्यामा सङ्क्रमितको उपचार गरिएको सेन्टर बुधबारसम्ममा पूर्ण रुपमा सञ्चालन हुने छ । उहाँले सेन्टरमा रहेका घाइते र बिरामीलाई अन्यन्त्र सारेर पूर्ण रुपमा कोभिड–१९ अस्पताल बनाइने जानकारी दिनुभयो ।

सेन्टरमा १० सघन उपचार कक्ष र २०० शय्या छन् । उहाँले थप आइसियु र भेन्टिलेटर थपेर अस्पताललाई व्यवस्थित बनाइने बताउनुभयो । अहिले सेन्टरमा ७० सङ्क्रमितको उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया