विश्वकीर्तिमानी कामीरिताको आरोही टोली आधार शिविरमा

  बैशाख २५, २०७८

काठमाडाै‌, वैशाख २५ : वसन्त यामको सगरमाथा आरोहणका लागि बाटो बनाउन सगरमाथाको चुचुरामा पुगेको आरोही समूह आज सगरमाथाको आधार शिविर आइपुगेको छ । सगरमाथाको चुचुरामा डोरी टाँग्न शुक्रबार साँझ ६ः०० बजे शिखर पुगेको कीर्तिमानी आरोही कामीरिता शेर्पाले नेतृत्व गरेको १२ जनाको शेर्पा आरोही समूह आज मध्याह्न आधार शिविर आइपुगेको हो ।

सगरमाथाको चुचुरासम्म बाटो बनाएर फर्किएको आरोही समूहलाई आधार शिविरमा स्वागत गरिएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले सगरमाथा आरोहणका लागि अनुकूल मौसम रहेकाले अधिकांश आरोही आधार शिविरमाथितिर लागेका छन् ।

आरोहणका लागि पहिलो लहरमा बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोली छ । विशिष्ट विदेशी पाहुनाको यो आरोहणलाई निकै महत्वका साथ लिइएको छ । नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का महासचिव कूलबहादुर गुरुङले सगरमाथाको विशिष्ट पाहुनाबाट हुन लागेको आरोहणले विश्वभर सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो ।

डोरी टाँग्ने समूहपछि पहिलो आरोहण बहराइनको टोलीले गर्न लागेको जनाइएको छ । बहराइन अधिराज्यका युवराज शेख नसेर बिन हमिद अल खलिफाका भाइ राजकुमार खलिफासहित १६ जनाको टोली आरोहणमा निस्किएको हो । आरोहणमा बहराइन रोयल गार्ड ९डिफेन्स फोर्स० मा कार्यरत १३ बहराइनी तथा तीन बेलायती छन् ।

तपाईको प्रतिक्रिया