सिन्धुलीमा सङक्रमण बढेसँगै ५० शथ्याकाे कोभिड अस्पताल सञ्चालन

  बैशाख २५, २०७८

सिन्धुलीमाढी, वैशाख २५ : सिन्धुली जिल्लामा पछिल्लो समय दोस्रो लहरको कोरोना भाईरसको सङक्रमण बढेसँगै सदरमुकाम सिन्धुलीमाढीमा ५० शथ्याको कोभिड अस्पताल शुक्रबारबाट सञ्चालनमा ल्याइएको छ । कमलामाइ नगरपालिका–६ शिवनगरमा गत बर्ष निर्माण गरिएको आईसोलेसन भवनमा ५० शथ्याको कोभिड अस्पताल सिन्धुली अस्पतालको मातहतमा रहने गरी सञ्चालनमा ल्याईएको हो ।

उक्त कोभिड अस्पतालमा अब ४७ जनासम्म कोराना भाइरस सङक्रमित बिरामीलाइ अक्सिजन दिएर भेन्टिलेटरमा राख्न सकिने सिन्धुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त कोभिड अस्पतालमा तीन बेडको आइसियू भने सञ्चालनमा आएको छैन् । सङक्रमितलाइ आवश्यक पर्ने सबै किसिमको सुविधा अत्याधुनिक बेडमै जडान भएको उक्त अस्पतालका अध्यक्ष पोख्रेलले सुनाउनुभयो । सङक्रमितलाई चाहिने इयरड्यू, अक्सिजन लगायतका औषधिहरु भर्ना भएको बेडमै जडान हुने भएकाले सुविधा पर्याप्त भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘अब कोरोना लागेर यो अस्पतालमा ल्याई भर्ना गरेर उपचार गरेका बिरामीले अक्सिजनकै अभावमा ज्यान गुमाउनु पर्दैन ।’

अस्पताल विकास समितिका अध्यक्ष पोख्रेलका अनुसार शनिबारसम्म सिन्धुली जिल्लामा कोरोना सङक्रमितको सङख्या २६१ पुगेको छ । ती मध्ये छ जना कोरोना जितेर निको भएर घर गएका छन् । बाँकी मध्ये १३ जनाको कोभिड अस्पतालमा भर्ना गरी उपचार भई रहेको छ । बाँकी होम आईसोलेसनमा बसेर उपचार गरि रहेका छन् ।

प्रदेश सरकार, स्थानीय तह, विभिन्न सामाजिक सङघ संस्था र व्यक्तिगत सहयोगमा गत बर्ष नै निर्माण भएको कोभिड अस्पताल सञ्चालनमा नआउदा कोरोना सङक्रमितलाइ सिन्धुली अस्पतालमा राखेर उपचार गरिदै आएको उहाँको भनाई छ । कोभिड अस्पतालको छानाबाट पानी चुहिएकाले मर्मत गर्न समय लागेर सञ्चालनमा ल्याउन ढिलो भएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार कोभिड अस्पतालमा अत्याधुनिक जनरल वार्डमा ४७ बेड छन् । तीन करोड ५० लाख रुपिया खर्चिएर अस्पताल निर्माण भएको हो । आइसियू सेवा भने प्राविधक कारणले सञ्चालनमा आउन अझै केही समय पर्खनु पर्ने अवस्था छ । अक्सिजन उत्पादनको थालनी सिन्धुली अस्पतालमै थालनी गरेको भएपनि बुस्टरको अभावमा बाहिर सप्लाइ गर्न भने नसकिएको अध्यक्ष पोख्रेलको भनाई छ ।

तपाईको प्रतिक्रिया