कोरोना संक्रमण भएका बेला शरीरमा अक्सिजन तह कति हुनुपर्छ, कम भए के गर्ने ?

  बैशाख २५, २०७८

काठमाडौं, वैशाख २५ : कोरोनाभाइरस महामारीका कारण नराम्ररी भारतमा अहिले अक्सिजन अभावका कारण कैयौँ बिरामीहरूले ज्यान गुमाइरहेका छन् । नेपालमा पनि अहिले जटिल अवस्थाका बिरामीहरूको सङ्ख्या बढ्दै गएको र अस्पताल भर्ना भएका धेरैलाई अक्सिजन दिनुपरेका विवरणहरू आइरहेका छन् ।

घरमै शरीरमा अक्सिजनको तह जाँच गर्न सकिने उपकरण अक्सिमिटरको बजारमा माग व्यापक रूपमा बढेको व्यवसायीहरूले बताएका छन् । अहिले नेपालमा सञ्चालनमा रहेका अक्सिजन उद्योगहरू पूर्ण क्षमतामा चले आपूर्तिमा समस्या नहुने तर सिलिन्डरको अभाव ‘ठूलै समस्या’का रूपमा देखा परेको व्यवसायीहरूको भनाइ छ । उनीहरूले विदेशबाट नयाँ सिलिन्डर ल्याउने व्यवस्था गरिदिन सरकारसँग आग्रह गरेका छन् ।

“पूर्वतयारी भएको हुन्थ्यो भने सरकार सरकारबीच सहमति गरेर द्रूत गतिमा ‘फास्ट ट्र्याक’बाट ल्याउने कुरामा सहजीकरण गरिदिनुपर्थ्यो । घर्किसक्यो समय । सिलिन्डर राज्यले एअरलिफ्ट गरेर ल्याउने हो भने कोभिडको विकराल समस्या पर्दा बिरामी बचाउन अवसर हुन्छ,” एक जना अक्सिजन उद्योग सञ्चालक शिवप्रसाद घिमिरेले बीबीसीसँग भने ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता समिर अधिकारीले विदेशबाट नयाँ सिलिन्डर खरिद गरेर सहज रूपमा ल्याउन कठिन हुने बताउँदै त्यसका लागि कूटनीतिक पहल भइरहेको जानकारी दिए । “खरिद गरेर मात्रै पाउने अवस्था देखिन्न अहिले अक्सिजन सिलिन्डरका हकमा। कुनै विशेष किसिमको कूटनीतिक प्रयास गर्नुपर्ने देखिएर त्यसका लागि कामहरू अघि बढेका छन्,” डा. अधिकारीले भने ।

“दक्षिणी छिमेकी देश भारतबाट केही पनि ल्याउन सकिने अवस्था छैन । हाम्रो प्रयास चाहिँ जहाँ सङ्क्रमण कम छ र उत्पादन बढी छ ती देशहरूमा प्रयास गर्ने हो। त्यसका लागि हामीले समन्वय अघि बढाइसकेका छौँ ।” उत्तरी छिमेक चीनसहित अन्य देशबाट अक्सिजन सिलिन्डर आपूर्ति गर्ने सम्भावनाका विषयमा आफूहरू खुला रहेको र तदनुरूप कूटनीतिक पहल भइरहेको अधिकारीले जानकारी दिए ।

अक्सिजनको आवश्यकता व्यापक रूपमा पर्ने सक्ने कतिपय विज्ञहरूको अनुमानकाबीच मानव शरीरमा अक्सिजनको मात्रा बारे थाहा पाउन आवश्यक महत्त्वपूर्ण पक्षबारे सङ्क्रामक रोग विशेषज्ञ डा. अनूप सुवेदीका सुझावलाई हामीले यहाँ समेटेका छौँ ।

मानिसको शरीरमा अक्सिजनको तह कति हुनुपर्छ?
कोरोनाभाइरसको सङ्क्रमण जटिल चरणमा जाँदा अक्सिजन कम हुने डा. सुवेदी बताउँछन् । अक्सिजन कम हुँदा निश्चित उपचार सुरु गर्नुपर्ने हुन्छ । “त्यसै कारण कोरोनाभाइरस पोजेटिभ हुनेबित्तिकै हामी बिरामीलाई शरीरमा अक्सिजनको तह नाप्न सिकाउँछौँ,” उनले भने ।

सामान्यतया पल्स अक्सिमिटर भन्ने उपकरणले अक्सिजन नाप्दा तह ९५ देखि ९६ हुन्छ । समुद्री सतहबाट काठमाण्डूको उचाइ बढी भएकाले अक्सिजनको तह ९६-९७ भन्दा प्रायः बढी नहुने उनी बताउँछन् । “तर धेरै मोटा मान्छेहरू अथवा फोक्सोको, दमको रोग भएका मान्छेहरूमा पहिले नै अक्सिजनको मात्रा पल्स अक्सिमिटरले कम देखाउन सक्छ । उहाँहरूका लागि सामान्य अङ्क नै ९२-९३ हुन सक्छ । कसैको ९० मात्र पनि हुन सक्छ,” उनले भने ।

अरू कुनै स्वास्थ्य समस्या नभएका मान्छेमा कोरोनाभाइरस सङ्क्रमण देखिएको अवस्थामा अक्सिजनको मात्रा घटेर ९२ वा त्यो भन्दा कम भए अस्पताल जान र उपचार गराउन डा. सुवेदी सुझाउँछन् ।

अक्सिजनको तह कति बेला हेर्ने?
सामान्यतया कोरोनाभाइरसको लक्षण सुरु भएको करिब एक सातापछि मात्रै अक्सिजनको तह कम हुँदै जाने डा. सुवेदी बताउँछन् । आफूलाई कहिलेबाट लक्षण सुरु भएको हो भन्ने कुरा थाहा पाएको अवस्थामा हरेक दिन वा छिन छिनमा अक्सिजन नापिरहनु नपर्ने उनको भनाइ छ ।

“हामी दिनमा दुई-तीन पटक नाप्न सुझाउँछौँ ,” उनले भने । सामान्य अवस्थामा अक्सिजन ९५-९६ भएको व्यक्तिमा ९३ तिर देखियो वा घट्न थालेको सङ्केत देखियो भने चारदेखि पाँच घण्टामा नाप्नुपर्ने उनको सुझाव छ ।

अक्सिजन कम भए अस्पताल जानैपर्छ?
कोरोनाभाइरस महामारी चलिरहेको भएपनि अत्यावश्यक नभएसम्म अस्पताल नजान चिकित्सकहरूले सुझाइरहेका छन् । चाप धेरै भएकाले सामान्य अवस्थाका कोभिड बिरामी समेत घरमै बसिरहेको विवरणहरू आइरहेका छन् । तर अक्सिजनको तह कम हुन लागेको अवस्थामा भने अस्पतालमै जानुपर्ने डा. सुवेदीको सुझाव छ ।

“घरमा बसेर अस्पतालमा दिन सकिने निश्चित उपचार दिन मिल्दैन । अर्को कुरा त्यो अवस्थामा पुगेपछि बिरामीलाई निगरानीमा राख्नुपर्छ र अक्सिजनको मात्रा घट्न थाल्यो भने घरमा थोरै अक्सिजन लगाएर मात्रै माथि ल्याउन सकिँदैन । अस्पतालमा एक पटकमा अलि धेरै अक्सिजन दिन मिल्ने व्यवस्थाहरू छन्,” उनले भने ।

अक्सिजन घट्न नदिन के गर्ने?
यसको ‘खासै ठूलो’ उपाय केही पनि ‘नभएको’ सुवेदी बताउँछन् । ”सकेसम्म फोक्सो स्वस्थ राख्नुपर्ने हुन्छ । त्यो भनेको पहिलेदेखि नै तपाईँले तयारी गर्ने हो । चुरोट खाइरहनुभएको छ भने छाड्ने । स्वास्थ्यकर बानीबेहोराबाहेक अन्य केही उपाय छैन ।”

कतिपयले प्राणायाम, योगका अभ्यास गर्ने गरेको भए पनि त्यससँग सम्बन्धित तथ्याङ्क आफूलाई थाहा नभएकाले उनी आफू केही भन्न सक्ने स्थितिमा नभएको उनको भनाइ छ । अक्सिजन कम हुन लागेको सङ्केत देखिए सुत्दा घोप्टो पर्नु राम्रो हुने उनको सुझाव रहेको बिबिसीले जनाएको छ ।

“गाह्रो भए कोल्टे पर्ने । सकेसम्म उत्तानो परेर नसुत्ने। त्यो विचार गर्न सकिन्छ । त्यसले फाइदा गर्छ भनेर देखाएको छ । त्यो चाहिँ प्राय अक्सिजन घटिसकेका मान्छेलाई हामी सुझाउँछौँ । अक्सिजन घटेको जस्तो आफूलाई लाग्छ भने त्यस्तो अभ्यास गर्दा हुन्छ,” उनले भने ।

खानपानले फरक पार्छ?
कुनै पनि खानाले शरीरमा अक्सिजनको तहलाई कायम गर्न सहयोग गर्छ भन्ने नदेखिएको डा. सुवेदी बताउँछन् । साधारण अवस्थाको आहारविहार नै कायम राख्न उनी सुझाउँछन् । “कोरोनाभाइरस सङ्क्रमण हुँदा पनि गर्ने त्यही नै हो,” उनले भने । “झोल कुरा, पानीको मात्रा बढाउँदा राम्रो हुन्छ । मद्यपान गर्नु हुँदैन ।” शरीरलाई विशेष खाना खाँदा अक्सिजन बढिरहन्छ भन्ने कुनै अध्ययनले नदेखाएको उनी बताउँछन् ।

तपाईको प्रतिक्रिया