कोरोना भाइरस संक्रमण बढ्दो दैनिक ५० जनाको मृत्यु, हजारौ संक्रमित

  बैशाख २५, २०७८

काठमाडौं, वैशाख २५ : नेपालमा पछिल्लो २४ घण्टामा थप ९,१९६ जना व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो अहिलेसम्म पुष्टि भएको सर्वाधिक दैनिक वृद्धि सङ्ख्या हो ।

मन्त्रालयका अनुसार सो अवधिमा थप ५० जनाको कोभिड-१९ सम्बन्धी कारणले मृत्यु भएको विवरण प्राप्त भएको छ । हालसम्म कुल ३,५७९ जनाको मृत्यु भइसकेको छ । यो अवधिमा २,९०५ जना सङ्क्रमणमुक्त भएका छन् ।

काठमाण्डू उपत्यकामा सर्वाधिक सङ्ख्यामा सङ्क्रमित फेला पर्ने क्रम जारी छ। रूपन्देहीमा पनि ठूलो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको बिबिसीले जनाएको छ ।

सरकारको तथ्याङ्कअनुसार शुक्रवार अपराह्णसम्म देशभरि ७८,६२९ जना पुष्टि भएका सक्रिय सङ्क्रमित छन् । तीमध्ये ५,८६० जना संस्थागत आइशोलेशनमा र बाँकी सबै घरमै बसिरहेको मन्त्रालयले जनाएको छ ।

अस्पतालमा रहेकामध्ये ७२८ जना आईसीयूमा र २३१ जना भेन्टिलेटरमा उपचाररत छन् । अहिले पीसीआर विधिसहित एन्टिजन विधिबाट परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन् । कुल २०,४८२ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार शुक्रवार काठमाण्डू जिल्लामा ३,०८९ जना, ललितपुर जिल्लामा ६४३ र भक्तपुरमा ३७४ जनामा कोभिड पुष्टि भएको हो । त्यसैगरी झापामा २१६, मोरङमा २७३, चितवनमा ३४३, कास्कीमा ३९३, दाङमा ३६६, बाँकेमा २२२ र रूपन्देहीमा ७३० जनामा पनि सङ्क्रमण पुष्टि भयो ।

सरकारले सोमवार ७,४४८ जनामा सङ्क्रमण र ३७ जनाको मृत्यु, मङ्गलवार ७,६६० जनामा सङ्क्रमण र ५५ जनाको मृत्यु, बुधवार ८,६५९ जनामा सङ्क्रमण र ५७ जनाको मृत्यु एवं बिहीबार नौ हजार जनामा कोरोनाभाइरस सङ्क्रमण र ५४ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरेको थियो ।

तपाईको प्रतिक्रिया