वीरगञ्ज महानगरपालिकाले सञ्चालनमा ल्यायो २३० बेडको कोभिड अस्पताल

  बैशाख २४, २०७८

वीरगञ्ज , बैशाख २४ : वीरगञ्ज महानगरपालिकाले २३० शैयाको कोभिड अस्थायी अस्पताल तथा आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । वीरगञ्जमा कोरोना संक्रमितको संख्या बढ्दै गई सङ्क्रमितहरुको उपचारको लागि अस्पतालमा शैया अभाव हुन थालेपछि वीरगञ्ज १० घडीअर्वामा रहेको गोपाल मण्डली अतिथि सदनमा महानगरपालिकाले शुक्रबारदेखि २३० शैयाको कोभिड अस्थायी अस्पताल तथा आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको हो ।

महानगर प्रमुख विजयकुमार सरावगीले शुक्रबार बिहान एक कार्यक्रमका बीच औपचारिक रुपमा गोपालमण्डली अतिथी सदनमा कोभिड अस्थायी अस्पताल तथा आइसोलेसन सेन्टरको उदघाट्न गर्नुभयो । सङ्क्रमित बढ्दै गएकाले सिकिस्त बिरामीलाई मात्र अस्पतालमा भर्ना गरिने गरेको र अन्य सामान्य लक्षण भएकाहरु सबै होम आईसोलेसनमा रहने गरेकाले सिकिस्त भई अस्पताल भर्ना हुने गरेका थिए ।सामान्य लक्षण भएका र लक्षण नदेखिएका सङ्क्रमितलाई भर्ना गरि उपचार गर्ने उदेश्यका साथ २ सय ३० शैयाको कोभिड अस्थायी अस्पताल तथा आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको महानगर प्रमुख सरावगीले उदघाटनकाक्रममा भन्नुभयो ।

बिहीबार कोरोना संक्रमण पुष्टि भएकाले महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की उक्त कोभिड अस्थायी अस्पताल तथा आइसोलेसन सेन्टरमा पहिलो बिरामीका रुपमा भर्ना हुनु भएको छ । शुक्रबारदेखि सञ्चालनमा आएको यस कोभिड अस्थायी अस्पताल तथा आइसोलेसन सेन्टरमा डिएम (डक्टोरेट इन मेडिसिन) एक जना , एमडी (मेडिकल डाइरेक्टर) २ जना र मेडिकल अफिसर ८ जना गरि ११ जना चिकित्सक , प्यारामेडिकल स्टाफ २१ जना, सरसफाइकर्मी ८ जना र १० जना प्रशासनिक कर्मचारी पनि खटाइएको नगर प्रमुख सरावगीले जानकारी दिनु भयो । महानगरको सञ्चालनमा ल्याएको उक्त कोभिड अस्थायी अस्पताल तथा आइसोलेसनमा भर्ना भएका संक्रमितलाई अक्सिजन, औषधि र खाजा, खाना महानगरपालिकाले निःशुल्क दिने व्यवस्था मिलाईएको उदघाट्न कार्यक्रममा जानकारी गराईएको थियो ।

तपाईको प्रतिक्रिया