हुम्लामा निषेधाज्ञाबीच हवाई मार्गबाट खाद्यान्न ढुवानी पुनः सुरु

  बैशाख २४, २०७८

हुम्ला, वैशाख २४ : जिल्लामा निषेधाज्ञा सुरु भएपछि रोकिएको खाद्यान्न ढुवानी कार्य हवाई मार्गबाट पुनः सुरु भएको छ । निषेधाज्ञाका बेला खाद्यान्न आपुर्ति सहज बनाउनुपर्ने सरकारको निर्देशन अनुसार सडक यातायात नजोडिएको हिमाली जिल्ला हुम्लामा खाद्यान्न ढुवानी कार्य सुरु भएको हो ।

जिल्लामा खाद्यान्न समस्या नहोस भन्नका लागि निषेधाज्ञाका बिच खाद्यान्न ढुवानी सुरु भएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताउनुभयो । वैशाख जेठ महिनामा सधै जिल्लामा खाद्यान्न समस्या हुने गरेको विगतलाई दृष्टिगत गर्दै यसपािल निषेधाज्ञा सुरु भएपछि पनि खाद्यान्न ढुवानी सुरु गरिएको उहाँले बताउनुभयो ।

निषेधाज्ञाले दुई दिन रोकिएको खाद्यान्न ढुवानी सुरु भएको सीता एयर हुम्लाका इन्चार्ज छेपाल लामाले बताउनुभयो । निषेधाज्ञा पनि पहिलो दिन सिता एयरका तीन वटा जहाजले नेपालगंज र सुर्खेतबाट तीन फ्लाइट खाद्यान्न ढुवानी गरेको उहाँले बताउनुभयो । सिमकोट विमानस्थलमा पनि खाद्यान्न निक्कै साबधानीका साथ अनलोड गर्ने गरिएको छ ।

निषेधाज्ञाको कारण सदरमुकाम बन्द रहेको कारण बैशाख २८ गतेसम्म ढुवानी भएको खाद्यान्न सिमकोट विमान स्लमै राखिनेछ । त्यसपछि अबस्था हेरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा ढुवानी गर्ने व्यवस्था गरिने भएको छ । खाद्यान्न अनलोड गर्ने एयरलाइन्सका कर्मचारीले अनिवार्य पिपिसेट लगाउने पर्नेछ । यो खाद्यान्न थप कोटाको खाद्यान्न हो ।

तपाईको प्रतिक्रिया