बाँकेमा विहीबार एकैदिन ५०८ जना कोरोना सङ्क्रमणमुक्त

  बैशाख २३, २०७८

नेपालगञ्ज, वैशाख २३ : बाँकेमा गत केही दिन यता आएर कोरोना सङ्क्रमितहरु सङ्क्रमणमुक्त हुने क्रम तीव्र गतिमा बढ्दै गएको छ ।

बुधवारसम्म दैनिक तीन भन्दा बढी सङ्क्रमितहरु निको भएर सङ्क्रमणमुक्त भै डिस्चार्ज हुने क्रम जारी रहेकोमा विहीबार एकैदिन ५०८ जना संक्रमणमुक्त भएको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

यति धेरै सङ्ख्यामा एकैदिन सङ्क्रमणमुक्त भएको यो नै पहिलो भएको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताउनुभयो ।

उहाँले बाँकेमा बिहीवार २४१ महिला र २६७ पुरुष गरी जम्मा ५०८ जना कोरोना सङ्क्रमणमुक्त भइ डिस्चार्ज भएको जनाउनुभयो ।

सङ्क्रमित भएर होम आइसोलेसन र जिल्लाका अन्य विभिन्न आइसोलेसनमा रहनुभएका सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

जिल्लामा कोरोना विजेताहरु बढ्दै गएपछि अस्पतालमा भर्ना भएका बिरामी सङ्क्रमितहरुको पनि मनोबल बढेको भेरी अस्पतालले जनाएको छ ।

सो अस्पतालका सुचना अधिकारी डा. संकेत कुमार रिसालले बिहीबार ५०८ जना सङ्क्रमणमुक्त भएपछि लक्षण भएका र नभएका अन्य सङ्क्रमितको मनोबल निकै उच्च भएको बताउनुभयो ।

उहाँले समयमै कोरोना परीक्षण गराउने, सुरक्षाका उपायहरु अपनाउने र चिकित्सकको सल्लाह अनुसार औषधि सेवनसँगै अन्य दिनचर्या गर्ने हो भने कोरोनालाई सहज रुपमै पराजित गर्न सकिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया