लण्डनको हनस्लो बरो काउन्सिलको मेयरमा नेपाली मूलका गुरुङ निर्वाचित

  बैशाख २३, २०७८

लण्डन, वैशाख २३ :  संयुक्त अधिराज्य (बेलायत) को राजधानी लण्डनको स्थानीय काउन्सिलमा नेपाली मूलका विष्णुबहादुर गुरुङ मेयरमा निर्वाचित हुनु भएको छ । पश्चिम लण्डनको हनस्लो बरो काउन्सिलको मेयरमा प्रम्ख विपक्षी लेबर पार्टीबाट गुरुङ निर्वाचित हुनु भएको हो । हनस्लो बरोको साधारणसभाले गुरुङलाई मेयरमा निर्वाचित गरेको हो । उहाँको कार्यकाल एक वर्षको हुनेछ ।

पूर्व गोरखा सैनिक गुरुङ सो काउन्सिलमा दोस्रोपटक काउन्सिलरका रुपमा कार्यरत रहँदै आउनु भएको थियो । यसअघि उहाँ सोही काउन्सिलको उपमेयर हुनुहुन्थ्यो । यसअघि बेलायतमा नेपाली मूलका शंकर गैरे र डा जगन्नाथ शर्मा स्थानीय काउन्सिलको मेयरमा निर्वाचित भैसक्नु भएको छ । लण्डनभित्रको बरो काउन्सिलहरुमा नेपाली मुलको मेयर हुनेमा भने गुरुङ पहिलो हुनुहुन्छ । गोर्खा नेप्लिज् कम्युनिटी हनस्लोका संस्थापक अध्यक्ष गुरुङ आर्मड् फोर्सेस च्यारिटी (साफा) लगायतका सङघसंस्थामा संलग्न रहँदै आउनु भएको छ ।

मेयरमा निर्वाचित भएपछि गोरखापत्रसँग कुराकानी गर्दै गुरुङले भन्नुभयो,‘दुई देशबीचको सम्बन्धलाई थप प्रणाढ बनाउन सक्रिय भुमिका निर्वाह गर्नेछु । ’ उहाँले नेपाली समुदायको नयाँ पुस्तालाई उत्प्रेरित गर्न आफू अगाडि सरेको बताउँदै भन्नुभयो,‘ मिहिनेत गर्नुपर्छ सफलता पाइन्छ । च्यारिटीमार्फत सामाजिक सेवामा जोडिएको बताउँदै गुरुङले नेपालको विभिन्न भागको खानेपानी,बाटो,शिक्षालगायतका क्षेत्रको उत्थानमा निरन्तर सहयोग गरिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया