बाटाे बनाउने टाेली चाैथाे क्याम्प उक्लदै, भोलिबाट सगरमाथा आरोहण

  बैशाख २२, २०७८

काठमाडौं, वैशाख २२ : खराव मौसमका कारण रोकिएको सगरमाथा आरोहण भोलिबाट शुरु हुनेभएको छ । १० दिन देखि रोकिएको आरोहणका लागि बाटो निर्माण गर्न टोली चौथो क्याम्प प्रस्थान गरेसँगै आरोहण खुल्ला हुने भएको हो ।

चौथो क्याम्प नजिक सात हजार ८०० मिटरमा पुगेर रोकिएको बाटो निर्माणका लागि कीर्तिमानी आरोही गाइड कामीरिता शेर्पाको नेतृत्वमा आज (बुधबार) बाटो निर्माण टोली माथि उक्लेका छन् । टोली आज साँझसम्ममा चौथो क्याम्प पुग्ने र भोलिसम्म बाटो निर्माण सम्पन्न गर्ने बाटो निर्माण जिम्मा लिएको सेभेन समिट ट्रेकका निर्देशक टासिलाक्पा शेर्पाले आधारशिविरबाट गोरखापत्रलाई जानकारी दिनुभयो । बाटो निर्माण सम्पन्न गरेसँगै आरोहणदलका सदस्यहरुले सगरमाथा आरोहण शुरु गर्ने छन् ।

यस वर्ष हालसम्मकै धेरै आरोही सगरमाथा आरोहणका लागि अनुमती लिएका छन् । यस सिजनमा ४४ आरोहणदलबाट ४०८ जना आरोहीले आरोही गर्ने पर्यटन विभागबाट अनुमति लिएका छन् । ३१५ पुरुष, ९२ जना महिला र एक जना तेस्रो लिंगी आरोहीले आरोहण गर्ने तयारीमा छन् । सगरमाथाबाट मात्र यो सिजनमा ४९ करोड ६१ लाख ३१ हजार ७८७ रुपैयाँ राजश्व संकलन भएको विभागको तथ्याङक छ ।

तपाईको प्रतिक्रिया