आत्मनिर्भर बनेको कुखुरापालन व्यवसाय निषेधाज्ञाले बढी प्रभावित

  बैशाख २२, २०७८

काठमाडौँ, वैशाख २२ : सरकारले हालै आत्मनिर्भर भएको घोषणा गरेको कुखुरापालन (पोल्ट्री) व्यवसाय कोभिड–१९ का कारण सबैभन्दा बढी प्रभावित हुने देखिएको छ । कोभिड–१९ को पहिलो लहरबाट प्रताडित पोल्ट्री क्षेत्र उठ्न नपाउँदै फेरि दोस्रो लहरको चपेटामा परेको छ ।

कुखुराको मासु र अण्डामा देशलाई आत्मनिर्भर बनाएको यस क्षेत्रमा झन्डै डेढ सय अर्ब लगानी छ । सरकारले जोगाउने उपाय नगरे आत्मनिर्भर रहन नसक्नेतर्फ उद्योगीहरूले सचेत गराएको जनाएका छन् । यस क्षेत्रमा गत वर्षको बन्दाबन्दीमा झन्डै ५० करोड रुपियाँभन्दा बढीको क्षति भएको थियो । बन्द भएका कतिपय उद्योग अझै खुल्न सकेको छैनन् ।

अहिले फेरि बन्दाबन्दी सुरु हुनेबित्तिकै यो क्षेत्रका उद्योगी तथा किसानमा चिन्ता थपिएको छ । किसान तथा उद्योगी भन्छन्, “सरकारले ध्यान दिएन भने कारोबार बचाउन गाह्रो छ ।” बन्दाबन्दी भएपछि अण्डा, चल्ला, कुखुरा उत्पादनदेखि बिक्री वितरणसम्म प्रभावित हुने गरेको छ । चल्ला तथा कुखुरा उत्पादन भए पनि बिक्री न्यून भएपछि त्यसलाई खाल्डोमा पुर्नुबाहेक अरू उपाय नहेको नेपाल ह्याचरी सङ्घका अध्यक्ष ऋषि पौडेलले बताउनुभयो । अहिले चल्ला बिक्री २५ प्रतिशतमा झरेको छ ।

उपत्यकामा बिक्री कम
काठमाडौँ उपत्यकामा मात्र दैनिक पाँच लाख केजी कुखुराको मासु बिक्री हुन्छ । वैशाख १६ देखि निषेधाज्ञा लागेर थुप्रै मान्छेले उपत्यका छाडिसकेका छन् । उपत्यकामा रहेका उपभोक्ताले पनि सामान्य समयजस्तो मासु खाँदैनन् । कोरोनाको डरले अधिकांश मान्छे घरबाट निस्किँदैनन् । त्यसमा पनि बिहान चार घण्टा मात्र खुला रहने भएका हुनाले बिक्री त्यतिकै कम हुन्छ । अध्यक्ष पौडेलका अनुसार साँझ पनि खोल्न दियो भने अलिकति बिक्री बढ्छ तर बिहान मात्र त्यति बिक्री हुँदैन ।

कुखुरा बजार व्यवस्थापन सङ्घका अध्यक्ष जङ्गबहादुर सिंहले भन्नुभयो, “उपत्यकामा कुखुराको मासु ५० प्रतिशत पनि बिक्री हुँदैन अनि त्यसको सीधै असर चल्लामा पर्छ ।” अध्यक्ष पौडेलले प्रायः आइतबार र बुधबार चल्ला निकाल्ने गरेको र देशभर कम्तीमा ३०–३५ लाख गोटा चल्ला निस्किने गरेको जनाउँदै अहिले पाँच लाखभन्दा बढी बिक्री नभएको दाबी गर्नुभयो । यसअघिको बन्दाबन्दीजस्तो कुखुरा, चल्ला तथा दाना ओसारपोसार गर्न समस्या भने नरहेको उहाँले बताउनुभयो । गाडीमा ब्यानर झुन्ड्याएपछि निर्बाध रूपमा आवतजावत गर्न दिइरहेको छ ।

गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बन्दाबन्दीमा अत्यावश्यक वस्तुको ढुवानीमा रोकटोक नगर्न तथा स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्ड अपनाउन गरेको आह्वानमा पोल्ट्री क्षेत्रलाई राखिएको थिएन । त्यसका लागि वैशाख १४ गते ह्याचरी उद्योग सङ्घले कृषि मन्त्रालयलाई लिखित रूपमा ध्यानाकर्षण गराएपछि सो क्षेत्रलाई पनि अत्यावश्यक वस्तुमा राखेको हो ।

सङ्घका महासचिव बलराम सिंजेलले अहिले चल्ला पुर्दै गएपछि एक डेढ महिनापछि देशमा कुखुराको ठूलो हाहाकार हुने निश्चित रहेको दाबी गर्नुभयो । त्यतिबेला कुखुरा मासुको मूल्य वृद्धि भएपछि सरकारले किन वृद्धि भयो भनी ह्याचरी उद्योगलाई दोष दिन नमिल्ने पनि उहाँले बताउनुभयो । बिक्री वितरण तथा बजारमा सरकारले अहिलेदेखि ध्यान दिएन भने अन्तिममा गएर कुखुराको निकै ठूलो हाहाकार हुने सम्भावनालाई मध्यनजर गर्दै अहिलेदेखि नै त्यसको व्यवस्थापनमा लाग्नुपर्ने उहाँले बताउनुभयो ।

चल्ला व्यवस्थापन
महासचिव सिंजेलले चल्लालाई खाल्डोमा पुर्नभन्दा राम्रो त सरकारले लिएर त्यसको व्यवस्थापन गरे आफूहरूले सित्तै दिने र पछि अभाव हुनबाट बच्न सकिने सुझाउनुभयो । कुखुराको बिक्री कम भए पनि अहिले चल्ला उत्पादन भने कम भएको छैन । प्रक्रिया सुरु गरेदेखि २१ दिनमा अर्थात् चल्ला उत्पादन हुन कम्तीमा तीन हप्ता लाग्ने र धेरैका फार्म प्रक्रियामा गएका छन् । चल्ला बिक्री हुन् भनेर ५० प्रतिशत मूल्य घटाएको पनि सिंजेलले बताउनुभयो । तैपनि सोचेजस्तो बिक्री भएको छैन ।

अण्डाको मूल्य वृद्धि
यता अण्डाको मूल्यमा वृद्धि भएको छ । बन्दाबन्दीमा अण्डाको उत्पादन कम भयो र खपत धेरै भएपछि मूल्य वृद्धि भएको अण्डा उत्पादक सङ्घका अध्यक्ष शिवराम केसीले बत(ाउनुभयो । ठूलो अण्डा प्रतिक्रेट मूल्य ३७० रुपियाँ र मझौलाको ३४० रुपियाँ पुगेको छ । विगतको भन्दा मूल्यमा प्रतिक्रेट ३० रुपियाँ वृद्धि भएको उहाँले बताउनुभयो । यो मूल्य पोल्ट्रीफार्मको हो, थोक हुँदै खुद्रासम्म पुग्दा यसको मूल्य प्रतिक्रेट चार सयसम्म पुग्ने अनुमान गरिएको छ । सरकारले अण्डाको लागत मूल्य ११ रुपियाँ ५३ पैसा तय गरेको छ तर लागत मूल्य बढेका कारण पनि बाध्य भएर मूल्य वृद्धि गर्नुपरेको अण्डा उद्योगीलाई उद्धृत गर्दै गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया