बैतडीमा शव बोकेको जिप दुर्घटना हुँदा पाँचको मृत्यु, पाँच घाइते

  बैशाख २१, २०७८

काठमाडौं, वैशाख २१ : जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका वडा नं ६ का ५० वर्षीय जीतसिंह भण्डारी, ३० वर्षीय डम्मरसिंह भण्डारी, २७ वर्षीय हिम्मत भण्डारी, ४० वर्षीय दीपक भण्डारी र जिप चालक तेजबहादुर बोहरा छन् ।

जिप चालक बोहराको उपचारको लागि अस्पताल ल्याउँदैै गर्दा मुत्यु भएको हो भने अन्य चार जनाको घटनास्थलमै मृत्यु भएको घटनास्थलमा खटिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन् । उनीहरूलाई उपचारको लागि जिल्ला अस्पताल पठाइँदैछ ।

पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव बोकेर जिल्ला अस्पताल आउँदै गरेको से १ ज १८३ नं को जिप आज दिउँसो पौने ३ बजे पञ्चेश्वर गाउँपालिका ६ रोडिदेवलको गणमेश्वर मन्दिर नजिक जिप दुर्घटना भएको हो । सोमबार राति चट्याङ लागेर मृत्यु भएका वडा सदस्य भण्डारीको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउँदै गरेको उक्त जिप दुर्घटनामा परेको हो ।

जिपमा मृतक वडा सदस्यको शवसहित ११ जना रहेका थिए । जिप सडकबाट करिब ५०० मिटर तल खसेको जनाइएको छ । साँघुरो घुम्तीमा मोड्नेक्रममा ब्याक गर्दा जिप दुर्घटनामा जिल्ला प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया