कोरोनाको मारमा सामाजिक कार्य : विवाह व्रतबन्धमा भीड नगरौं, बरु मिति सारौं

  बैशाख २१, २०७८

काठमाडौं, वैशाख २१ : केही दिन अगाडि सरकारले निषेधाज्ञा लगाउने घोषणा गरेसँगै उपत्यकाका मुख्य बजारमा विवाहका सामान खरिद गर्न मानिस ओईरिएका थिए । नेपाली पात्रो अनुसार वैशाख महिनामा बिहे गर्दा उन्नति ,प्रगति हुन्छ भन्ने ठानेर मानिसहरुको भीड लागेको थियो । तर कोभिड-१९ (कोरोना भाइरस) को सङ्क्रमणका कारण मानिस भेला हुन र होटल सञ्चालनमा पूर्णतया रोक लगाउँदै सरकारले निषेधाज्ञा जारी गरेपछि धेरै वैवाहिक समारोह रोकिने भएका छन् ।

यो वर्ष बैशाख महिनामा बिबाहको लागि शुभ साइत १० ,११ ,१७ र २४ गते  छ । केहीले बिहे नै स्थगित गरेका छन् भने केहीले बिहेको शुभ दिन अगावै बिहे गर्ने निर्णय गरेका छन् । उदाहरणका लागि विभुषा पाण्डेयको बिहे यही वैशाख २४ गते थियो तर अगावै सरकारले निषेधाज्ञाको घोषणा गर्यो त्यसकारण बिहेको मिति वैशाख १५ गतेलाई सारियो । “पोहोर साल जस्तै कोभिड १९ (कोरोना भाइरस) को सङ्क्रमण बढ्दै गइरहेको छ ,त्यसैले लामो समय लाग्छ कि भनेर हतार हतार निषेधाज्ञा अगावै बिहे गर्ने निर्णय गरेको हो ” नवविहाहित पाण्डेले भन्नुभयो ।

हाम्रो विवाहको साइत वैशाख २४ गते भन्यौँ तर केही दिन अगाडि आएको निषेधाज्ञाको खवरले असर गर्छ कि भन्ने लाग्यो र बिहे गर्याैँ । “हाम्रो विवाह बिना कुनै तयारी भएको हो ,परिवारका केही सदस्य र केही साथीको उपस्थिति मात्र थियो महामारीको बीचमा यसरी बिहे गर्दा निकै थकित महसुस हुँदोरहेछ ” उहाँले भन्नुभयो । तर महामारीमा गरेका सबै विहेको सुखद अन्त्य भने भएको छैन ।

अस्मि शर्मा ( परिवर्तित नाम) जसको विहे यहि वैशाख २४ गते थियो तर सरकारले सबै पार्टिप्यालेसमा मान्छे जम्मा हुन प्रतिबन्ध गर्यो । घरमै मामा माइजु बोलाएर सुटुक्क बिहे गरीदिने शर्माको परिवारले सोच्यो । विहे चल्दै थियो एक्कासि शर्मा बेहोस हुनुभयो । त्यसपछि उहाँलाई तुरुन्तै बसुन्धारास्थित बीपी स्मिृति अस्पताल लगियो । उहाँको एक्स रे रिपोर्टमा गम्भीर निमोनिया रहेको फेला पर्यो । उहाँलाई आईसीयू कक्षमा सारीयो । केहीबेरपछि उहाँको आरटिपिसिआर गर्दा उहाँमा कोरोना सङ्क्रमण देखियो ।

“शनिवार दिउँसो ४ बजेतिर उनले यो संसार छाडिन् , हामीले बचाउने धेरै प्रयास गर्यौं तर प्रयास विफल भैदियो” शर्माको बुबाले भन्नुभयो । तयारीको थकानले गर्दा विहे अघि त हामीले उसमा कुनै लक्षण भएको थाहा पाएकै थिएनौँ, जब थाहा पायौँ तब धेरै ढिला भैसकेछ । “म सबैलाई यो आग्रह गर्छु विशेष गरी जो बिहे गर्दै हुनुहुन्छ उहाँहरुले बिहे हुनुभन्दा कम्तीमा दुई दिन अगाडि पिसिआर जाँच अवश्य गराउनुहोला , हामीले जस्तो गल्ती नगर्नुहोला ”उहाँले भन्नुभयो ।

यसबाहेक दुलाहा हुन लागेका चण्डोलका सुजन पाठकले आफ्नो विवाह नै सारेका छन् । विवाह सबैको जीवनको एक सबैभन्दा ठूलो मामिला हो । “मेरो हुनेवाला पत्नी र मैले विहेको बारेमा योजना बनाउँछौँ र एउटा बाटो तय गर्छौँ ” उहाँले भन्नुभयो । “देशमा महामारीको दोस्रो लहरले हानिसकेको छ , भाइरस सङ्क्रमणको प्रसार जुनसुकै समयमा नियन्त्रण बाहिर जाने खतरा  छ , त्यसकारण सरकारले पनि १५ जनाभन्दा बढी मानिस जम्मा हुन प्रतिबन्ध लगाएको छ ” उहाको भनाई छ । धेरै आफन्तहरु र परिचित मान्छेहरु विहेबाट अलग हुन सक्दछन् । विवाहमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना पनि त्यति व्यावहारिक हुँदैन भनेर नै मङ्सिरमा विहे सार्ने निर्णय गरियो उहाँले भन्नुभयो ।

यसैबीच यही बैशाख १६ गते विवाह गरेका अर्जुन गुरुङ भन्न्हुन्छ “महामारीभन्दा अघि विवाह एउटा असाधारण समारोह हुन्थ्यो , मानिसहरु विवाहलाई दीखावटी बनाउनका लागि धेरै पैसा खर्च गर्ने गर्दथे । तर २०७६ साल यता घनिष्ट पारिवारिक उपस्थिति , र साथीहरुको बीचमा मात्र सीमित हुन थालेको छ । कपडा, गरगहना र होटेलको अनावश्यक खर्च कटौती हुन थालेको छ ।”

संस्कृतिबिद आलोक तुलाधरका अनुसार संस्कृतिलाई निरन्तरता दिनु अति आवश्यक छ । तर महामारीको समयमा डरलाग्दो अवस्था सृजना भएको छ ,। सुरक्षा सतर्कता अपनाउँदै औपचारिकता पूरा गर्नु पहिलो प्राथमिकता बनेको छ । “विवाह भोज गर्न कुनै शुभ समय चाहिदैन ,त्यसैले विवाह समारोह केही सीमित मान्छेको उपस्थितिमा शुभ साइतमा गर्दा हुन्छ तर भोज भने एक वा दुई वर्षपछि कोरोना भाइरस हटिसकेपछि गर्दा पनि हुन्छ” उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया