‘नागरिकको जीवनप्रति सरकार संवेदनशील’

  बैशाख २१, २०७८

काठमाडौं, वैशाख २१ : प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि नागरिक स्वास्थ्य सुविधाबाट वञ्चित हुन नपरोस् र महामारीका कारण कसैले जीवन गुमाउन नपरोस् भन्नेमा सरकार संवेदनशील रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले कोभिड–१९ को सन्दर्भमा सोमबार देशवासीलाई सम्बोधन गर्दै नागरिकको जीवन रक्षालाई प्राथमिकता दिइएको बताउनुभएको हो । उहाँले मानिसको जीवन र अर्थतन्त्रको रक्षाबीच सन्तुलन कायम गर्ने भन्नेमा बहस जारी रहेको सन्दर्भमा जीवन रक्षालाई प्राथमिकता दिएको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामीले ‘जीवन पहिला’ भन्यौँ र त्यहीअनुरूप योजनाहरू बनायौँ । एक वर्षपछि समीक्षा गर्दा हाम्रो निर्णय सही थियो भन्नेमा अहिले दुविधा रहेन । देशवासीको जीवन रक्षा, महामारी रोकथाम, नियन्त्रण तथा उपचारमा हाम्रो क्षमताको अधिकाधिक प्रयोग भयो ।”

सम्बोधनका क्रममा प्रधानमन्त्रीले कोरोना (कोभिड–१९) महामारीको दोस्रो लहरको रोकथाम र नियन्त्रणका लागि सरकारका सबै संयन्त्र परिचालन भएको बताउनुभयो । सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वयात्मक एवं प्रभावकारी ढङ्गले कोभिडविरुद्ध काम भइरहेको जानकारी दिनुहुँदै प्रधानमन्त्रीले अहिले सरकारका एक/एक मन्त्रीलाई प्रदेशसँग समन्वय गर्न ‘फोकल व्यक्ति’ तोकिएको उल्लेख गर्नुभयो ।

उहाँले महामारीमा अग्रपङ्क्तिमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, चालक, सफाइकर्मीलगायतका राष्ट्रसेवक कर्मचारीको भूमिका उल्लेखनीय रहेको भन्दै प्रशंसा गर्नुभएको छ । प्रधानमन्त्री ओलीले भन्नुभयो, “असामान्य घडीमा सङ्क्रमितको उपचार र व्यवस्थापनमा अहोरात्र खट्ने सबैको त्याग, समर्पण र लगनशीलताको म उच्च प्रशंसा गर्दछु ।”

सरकारले कोभिड–१९ विरुद्ध सबैलाई निःशुल्क खोप उपलब्ध गराउने प्रक्रिया सुुरु गरिसकेको छ भन्दै प्रधानमन्त्रीले दक्षिण एसियामै भारतपछि नेपालले खोप लगाउने व्यवस्था मिलाएको स्पष्ट पार्नुभयो । उहाँले हालसम्म करिब २१ लाखलाई पहिलो डोज र तीन लाख ७० हजारलाई दोस्रो डोज खोप लगाइसकेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “मित्रराष्ट्रहरूबाट सहायताका रूपमा प्राप्त खोपका अतिरिक्त नेपाल सरकारले आफैँ आवश्यक मात्रामा खोप खरिद प्रक्रिया सुरु गरिसकेको छ । छिटोभन्दा छिटो पर्याप्त मात्रामा खोप ल्याइसक्न नेपाल सरकार प्रयत्नशील छ ।”

सङ्क्रमणको साङ्लो चुँडाउन निषेधाज्ञा जारी गरिएको र यसमा थप कडाइ गरिने पनि उहाँले स्पष्ट पार्नुभयो । सोमबार राति १२ बजेदेखि वैशाख मसान्तसम्म आन्तरिक उडान र बिहीबार राति १२ बजेदेखि वैशाख मसान्तसम्म अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरिएको जानकारी पनि प्रधानमन्त्रीले दिनुभयो ।

स्थल मार्गबाट विदेशी नागरिकको आवागमन बन्द गरिएको छ । नेपाली नागरिक प्रवेशका लागि नेपाल–भारत सीमा नाकामध्ये १३ नाका मात्र सञ्चालनमा ल्याइएको छ । आपूर्ति व्यवस्था प्रभावित नहुने गरी ढुवानीका साधन भने सञ्चालन हुनेछन् ।

भारतसँग सीमा जोडिएका नाकामा रहेका हेल्थ डेस्कबाट एन्टिजेन परीक्षण गरेर मात्र सीमा प्रवेश गर्ने व्यवस्था मिलाइने र सबै तहमा कन्ट्याक्ट ट्रेसिङ बढाउन लगाइएको छ । यसैगरी प्रधानमन्त्रीले स्थल मार्ग, चार्टर्ड वा उद्धार हवाई उडानबाट आउने हरेक व्यक्तिको परीक्षण गरिने र सङ्क्रमित पाइए उपचार गर्ने व्यवस्था मिलाइएको बताउनुभयो ।

नेपाली सेनालाई प्रदेश तथा राजधानीमा शीघ्र एक हजार शøयाको अस्थायी अस्पताल निर्माण गर्न निर्देशन दिइएको छ । वीर अस्पतालको नयाँ भवन र नेपाली सेनाको त्रिचन्द्र मिलिटरी अस्पताल, काठमाडौँ उपत्यकाका धेरै शøया भएका मेडिकल कलेज, ठूला सरकारी तथा निजी अस्पताललाई कोभिड अस्पतालका रूपमा सञ्चालन गरिने जानकारी सम्बोधनका क्रममा प्रधानमन्त्रीले दिनुभयो ।

सबै सरकारी तथा निजी अस्पतालले शøयाको दैनिक विवरण अद्यावधिक गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पठाउनुपर्ने र शøया लुकाएको भेटिए कारबाहीसमेत हुने उहाँले बताउनुभयो ।
ठूला अस्पताल तथा मेडिकल कलेजमा अक्सिजन प्लान्ट स्थापना गरिने र सञ्चालनमा नआएका अक्सिजन प्लान्ट मर्मत गरी सञ्चालनमा ल्याइनेछ ।

लिक्विड अक्सिजन तथा अक्सिजन जेनेरेटर खरिद गरेर मौज्दात राखिने र देशमा अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन उपचारको प्रयोजनका लागि मात्र प्रयोग गर्ने गरी अन्य क्षेत्रमा आपूर्ति गर्न रोक लगाइएको छ ।

स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन सङ्घ, प्रदेश र स्थानीय तहमा अवकाशप्राप्त चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा भर्ना गरिनेछ । कोभिड–१९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष संलग्न भएर काम गर्नेलाई ५० प्रतिशत जोखिम भत्ताको व्यवस्था गरिने प्रधानमन्त्रीको सम्बोधनमा उल्लेख छ ।

प्रधानमन्त्रीले चिकित्सक, स्वास्थ्यकर्मी, चालक तथा सहचालक र सफाइकर्मीका साथै कर्मचारीलाई सुरु तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता, परिवारको उपचार र बिमाको व्यवस्था गरिने बताउनुभयो । उहाँले निषेधाज्ञा तथा बन्दाबन्दीका कारण कसैलाई पनि भोकै पर्न नदिनेमा सरकार सचेत रहेको स्पष्ट गर्नुभयो ।

महामारी नियन्त्रण भएसँगै अर्थतन्त्र र रोजगारीका क्षेत्रलाई ध्वस्त हुन नदिन आवश्यक प्रबन्ध गरिनेसमेत उहाँले बताउनुभयो । महामारीबाट सङ्क्रमित सम्पूर्णलाई प्रधानमन्त्रीले शीघ्र्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभएको छ । उहाँले माहामारीबाट हालसम्म तीन हजारभन्दा बढीले ज्यान गुमाउनु परेकोमा दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले कोभिड–१९ महामारीको दोस्रो लहर थप घातक भएको र सङ्क्रमण र मृत्युदर बढिरहेको बताउनुभयो । आइतबार पीसीआर परीक्षण गरिएका झन्डै ४३ प्रतिशतमा सङ्क्रमण देखिएकोसमेत उहाँले उल्लेख गर्नुभयो ।

उहाँले कुल सङ्क्रमितमध्ये निको भएका ८४.५ प्रतिशत, निको हुने क्रममा १४.५ प्रतिशत र ज्यान गुमाउने ०.९९ प्रतिशत रहेको बताउनुभयो । यसैगरी ३० जिल्लामा दुईभन्दा बढी र १५ जिल्लामा पाँच सयभन्दा बढी सङ्क्रमित छन् । कोभिड सङ्क्रमित ७२ जिल्लामा रेकर्ड भएका छन् ।

प्रधानमन्त्री ओलीले एक वर्षमा ८७ स्थानमा पीसीआर परीक्षण हुने व्यवस्था गरेको र सबैजसो अस्पताललाई कोभिडको उपचार गर्नसक्ने स्थितिमा पु¥याइएको बताउनुभयो । उहाँले भन्नुभयो, “गत एक वर्षको तुलनामा स्वास्थ्य संरचनामा उल्लेखनीय सुधार गरिएको छ । सबै स्थानीय तहमा ५ देखि १५ श-याका आधारभूत अस्पताल निर्माण र केन्द्र तथा प्रदेशमा सङ्क्रामक रोग अस्पताल निर्माणलाई तीव्रता दिइएको छ,” गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया