भारतमा एकै दिन कोभिडबाट तीन हजार ४१७ को मृत्यु, तीन लाख ६८ हजार सङ्क्रमित

  बैशाख २०, २०७८

नयाँ दिल्ली, वैशाख २० : भारतमा कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा तीन हजार ४१७ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा तीन लाख ६८ हजार नयाँ सङ्क्रमित भेटिएका छन् । योसहित भारतमा कुल सङ्क्रमितको सङ्ख्या एक करोड ९९ लाख पुगेको छ ।

गत शनिबार दैनिक सङ्क्रमितको संख्या चार लाख नाघेको थियो तर आइतबार केही कमी आएको छ । भारतमा कोभिड सङ्क्रमणबाट हालसम्म दुई लाख १८ हजार ९५९ जनाको ज्यान गएको छ । मन्त्रालयका अनुसार भारतमा अझै पनि ३४ लाखभन्दा बढी व्यक्ति सक्रिय सङ्क्रमित छन् । गत २४ घण्टामा तीन लाख व्यक्ति सङ्क्रमणमुक्त भएका छन् । योसहित भारतमा कुल सङ्क्रमितमध्ये १ करोड ६२ लाख सङ्क्रमणमुक्त भएका छन् ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार, भारतमा हालसम्म २९ करोड नमुना परीक्षण गरिएको छ । आइतबार मात्र भारतमा १५ लाख नमुना परीक्षण गरिएको छ । पछिल्ला दिनमा आक्रामक रुपमा कोभिड खोप अभियान सञ्चालन गरेको भारतमा हालसम्म १५ करोड ७२ लाखलाई खोप दिइएको छ । भारतमा कोभिडको दोस्रो लहरले पूरै देशमा संकटको अवस्था सिर्जना गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार, कोरोनाभाइरस महामारीबाट विश्वभर कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३२ लाख १६ हजार नाघेको छ ।

कोभिडको सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा ५ लाख ९१ हजार, ब्राजिलमा ४ लाख ७ हजार, भारतमा २ लाख १८ हजार, मेक्सिकोमा २ लाख १७ हजार, बेलायतमा १ लाख २७ हजार, इटालीमा १ लाख २१ हजार, रसियामा १ लाख १० हजार, फ्रान्समा एक लाखको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया