जनगणनाको तयारी तत्काललाई स्थगित, नयाँ आवदेखि शुरु गरिने

  बैशाख २०, २०७८

काठमाडौं, वैशाख २० : दश वर्षपछि शुरु हुन लागेको राष्ट्रिय जनगणना कार्यक्रम कोरोना भाइरस (कोभिड-१९) महामरीका कारण स्थगित भएको छ । कार्यतालिका अनुसार तालिम गोष्ठी लगायत प्रत्यक्ष जनतासँग सम्पर्क हुनुपर्ने कार्यक्रम भएकाले तत्कालका लागि स्थगित गर्ने निर्णय भएको तथ्याङक विभागका जनगणना शाखा प्रमुख डुण्डीराज लामिछानेले बताउनुभयो ।

जनगणनाका सबै काम तत्कालका लागि रोक्ने मन्त्रीपरिषद्ले निर्णय गरेको तर औपचारिक रुपमा विभागमा पत्र आइ नपुगेको लामिछानेले बताउनुभयो । हाललाई स्थगित भए पनि कोरोना संक्रमणको अवस्थालाई हेरेर कार्यतालिका बनाएर काम अघि बढाउने उहाँले जानकारी दिनुभयो । तर चालु आर्थिक वर्षमा सम्भावना कम रहेकाले आर्थिक वर्ष २०७८-०७९ देखि शुरु गर्ने विभागको लक्ष रहेको उहाँले भन्नुभयो । बैसाख १५ गते देखि सुपरिवेक्षकहरुका लागि तालिम दिन शुरु गरेको थियो भने यो तालिम पनि स्थागित भएको छ । कार्यतालिका अनुसार बैसाख २६ गते देखि देशैभरका ४३ हजार गणकहरुलाई तालिम दिने तयारी थियो ।

१० वर्षपछि हुने जनगणना कार्यक्रम मात्र नभएर राष्ट्रिय पर्वको रुपमा लिए पनि तथ्याङक विभागले कार्यक्रमलाई अघि बढाउन नसकेपछि सरकारसँग स्थागित गर्ने प्रस्ताव लगेको राष्ट्रिय योजना आयोगका उपसचिव दिवाकर लुइँटेलले बताउनुभयो । गणकलाई तालिम दिएपछि तत्कालै जेठ २५ देखि फिल्डमा पुगेर असार ८ गतेसम्म गणना शुरु गर्ने कार्यतालिका थियो । विभागले जनगणनाका लागि करिव ८५ प्रतिशत काम सम्पन्न गरिसकेको जनाएको छ ।

एक गाउँपालिकामा १० जनासम्म गणक भएकाले ठूलो भीड हुने भएकाले सम्भावना कम भएको विभागको भनाइ छ । नयाँ नयाँ व्यक्तिलाई जनगणनामा सामेल गराएकाले भर्चुअल माध्यमबाट तालिम असम्भव भएकाले स्वास्थ्य मापदण्ड अपनाएर समेत काम अघि बढाउन सकिने अवस्था नभए छि स्थगित गर्नुको विकल्प नभएको उपसचिव लुइँटेलले बताउनुभयो । तत्काल जनगणनाका लागि सुपरिवेक्षक र गणकको तालिम प्रभावित भयो यसले पनि कार्यतालिकामा असर पारेको छ, लुइँटेलले भन्नुभयो । विभागले १२ औं जनगणना गर्न प्रत्यक्ष रुपमा जनतासमक्ष पुग्नका लागि ४३ हजार गणक नियुक्त गरेको छ ।

तपाईको प्रतिक्रिया