दुई सभासद एमालेमै फर्किए, प्रदेश प्रमुखको कार्यलयमा पत्र दर्ता

  बैशाख २०, २०७८

बुटवल, वैशाख २० : आइतबारको राजनीतिक उतारचढावमा लुम्बिनीका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध उभिएका भनिएका दुई प्रदेशसभा सदस्यले आफूहरू एमाले संसदीय दलमै प्रतिबद्ध रहने बताउनुभएको छ ।

कपिलबस्तु–२ ‘ख’ बाट निर्वाचित धर्मबहादुर लाल श्रीवास्तव र नवलपरासी पश्चिम १ ‘ख’ बाट निर्वाचित अजय शाहीले सोमवार विज्ञप्तिमार्फत आफूहरुको समर्थन मुख्यमन्त्री शङ्कर पोखरेललाई रहेको प्रष्ट पार्नुभएको हो । उहाँहरुले सूर्य चिन्हबाट चुनाव जित्नुभएको थियो ।

संयुक्त जारी विज्ञप्तिमा भनिएको छ ‘२०७४ मङ्सिरमा सम्पन्न प्रदेशसभाको चुनावमा हामी सूर्य चिन्हबाट निर्वाचित प्रदेशसभा सदस्य हौं । सूर्य चिन्हबाट निर्वाचित प्रदेशसभा सदस्य भएकाले हामी नेकपा एमाले प्रदेशसभा संसदीय दलप्रति प्रतिबद्ध छौं । नेकपा एमाले प्रदेशसभा संसदीय दलप्रति प्रतिबद्ध हुनु कानूनी र राजनैतिक रूपमा स्वाभाविक विषय हो ।’

अघिल्लो दिन उहाँहरुले विपक्षी गठबन्धनबाट कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउने माग दाबीमा हस्ताक्षर गरेको सार्वजनिक भएको थियो । त्यस्तो दावीमा आफूहरूको हस्ताक्षर प्रयोग गर्नु बदनियत र त्रुटिपूर्ण रहेको उहाँहरुको भनाई छ । उहाँहरु दुबैले आजै आफूहरु एमालेमै रहेको भन्दै प्रदेश प्रमुखको कार्यलयमा पत्र दर्ता गराउनुभएको छ ।

तपाईको प्रतिक्रिया