पश्चिम बङ्गालमा ममता बेनर्जीको तृणमूललाई भारी बहुमत

  बैशाख २०, २०७८

काठमाडौं, वैशाख २० : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी(बीजेपी) कोभिड १९ को महामारीका बीच एक प्रमुख राज्य पश्चिम बङ्गालमा चुनाव हारेको छ । उक्त राज्यमा बिजेपीले युद्ध स्तरको चुनावी अभियान सञ्चालन गरेको थियो । तर प्रधानमन्त्री मोदीको कटु आलोचक ममता बेनर्जीको तृणमूल कँग्रेसले स्पष्ट बहुमत प्राप्त गरेको हो ।

प्रधानमन्त्री मोदीले महामारीको सामना गर्ने भन्दा चुनावी अभियानमा केन्द्रित भएको भन्दै आलोचना हुँदै आएको थियो । पश्चिम बङ्गालसहित असाम, तामिलनाडू, केरला र पुडुचेरीमा समेत विधान सभाको चुनाव भएको थियो । बीजेपीले असाममा चुनाव जिते पनि बाँकीको राज्यमा भने असफल रह्यो । भारतमा सोमबार मात्रै पछिल्लो चौबीस घण्टामा कोरोनाका तीन लाख ६० हजारभन्दा बढी सङ्क्रमित र तीन हजार ४१७ जनाको मृत्यु भएको छ । सङ्क्रमण युद्धस्तरमा फैलिएको दोष चुनावी अभियानलाई दिइएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार विधानसभाको २९४ सिटमध्ये तृणमूल कँग्रेसले दुई सयभन्दा बढी क्षेत्रमा चुनाव जितेको छ ।तृणमूलको संसदीय दलले ममता बेनर्जीलाई तेस्रो पटक मुख्यमन्त्री चयन गर्ने बताइएको छ । उहाँ भारतको एक मात्र महिला मुख्यमन्त्री हुनुहुन्छ । चुनावमा जितपछि बेनर्जीले भन्नुभयो, “पश्चिम बभ्गालले भारतलाई सुरक्षित गरेको छ, परिणामपछि मेरो पहिलो प्राथमिकता कोभिड १९ को सामना गर्ने हुनेछ ।”

पश्चिम बङ्गालको जनसङ्ख्या करिब नौ करोड छ । बेनर्जी आफैं भने चर्चित विधानसभा क्षेत्र नन्दीग्रामबाट हार बेहोर्नुभयो । उहाँले आफ्नो परिणामलाई लिएर न्यायालय गुहार्ने बताउनुभएको छ । चुनावमा बीजेपीले करिब ८० सिट जितेको छ । सन् २०१६ को विधानसभामा बीजेपीले तीन सिट जितेको थियो ।

तपाईको प्रतिक्रिया