नागरिकको जीवन रक्षा गर्न निर्देशन

  बैशाख २०, २०७८

काठमाडौँ, वैशाख २० : उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोराना (कोभिड–१९) महामारीका कारण बाँके जिल्लाको परिस्थिति भयावह हुन नदिन निर्देशन दिनुभएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाललाई आइतबार टेलिफोन गरी उपप्रधानमन्त्री पोखरेलले बाँकेका नागरिकको जीवन रक्षाका लागि कुनै पनि कसर बाँकी नराख्न निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) का संयोजकसमेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले स्थिति भयावह हुन नदिन बेलैमा कदम चाल्न निर्देशन दिँदै सीसीएमसीका तर्फबाट आवश्यक पर्ने सम्पूर्ण सहयोग हुने बताउनुभयो । कुनै गम्भीर विषय भएमा सीसीएमसी हेर्ने प्रधानमन्त्री कार्यालयका सचिवलाई सीधै सम्पर्क गर्न उहाँले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन पनि दिनुभयो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी गेलालले जिल्लामा कोभिड–१९ को अवस्था तथा वस्तुस्थितिबारे जानकारी गराउँदै कोभिड–१९ का बिरामीको चाप अस्पतालहरूमा बढिरहेको, अस्पतालमा श्ययाको अभाव भएको, सम्बन्धित चिकित्सकहरूको अभाव भएको तथा नेपाल मेडिकल कलेज कोहलपुरलाई कोभिड–१९ अस्पतालका रूपमा अगाडि बढाउने विषय प्रक्रियामै रहेको जानकारी गराउनुभएको थियो । उपप्रधानमन्त्री पोखरेलले यी सबै विषयमा तत्कालै सीसीएमसीका तर्फबाट सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको जनाइएको छ ।

उपप्रधानमन्त्री पोखरेलले कोभिड–१९ का बिरामीको उपचारका लागि पूर्वाधार भएको ठाउँको पहिचान गरी तयारी गर्न, निजी अस्पतालका पूर्वाधारलाई सदुपयोग गर्न, अक्सिजनको पर्याप्त व्यवस्था गर्नसमेत प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभएको थियो । उहाँले नेपाल–भारत सीमा नाकामा ‘होल्डिङ सेन्टर’को व्यवस्थापनका विषयमा समेत प्रजिअ गेलालसँग जानकारी लिनुभएको थियो ।

तपाईको प्रतिक्रिया