कोभिसिल्ड खोपको उत्पादन पूर्ण क्षमतामा जारी छ : पूनावाला

  बैशाख १९, २०७८

नयाँ दिल्ली, वैशाख १९ : भारतमा अक्सफोर्ड–अस्ट्राजेनिकाको कोभिड–१९ विरुद्धको खोपको उत्पादन गरिरहेको सेरम इन्स्टिच्यूट अफ इन्डियाले आफ्नो पुणे प्लान्टबाट पूर्ण क्षमतामा खोप उत्पादन भइरहेको जनाएको छ । “कोभिसिल्ड” नामबाट खोप उत्पादन गरिरहेको सेरमका प्रमुख कार्यकारी अदार पूनावालाले खोप उत्पादनको कार्यमा कुनै व्यवधान नरहेको र यो पूर्ण क्षमतामा जारी रहेको बताउनुभएको छ ।

सुरक्षा र धम्कीका कारण भारत छाडेको भनिएका पूनावालाले आफूले बेलायतमा साझेदारहरुसँग छलफल गरेको स्पष्ट गर्नुभएको छ । उहाँले ट्वीट गर्दै भन्नुभएको छ, “बेलायतमा हाम्रा सबै साझेदारसँग निकै राम्रो छलफल भएको छ । पुणेस्थित प्लान्टमा कोभिसिल्डको उत्पादन पूर्ण क्षमतामा भएकोमा खुशी लागेको छ । केही दिनभित्रै म भारत फर्किएपछि उत्पादनका बारेमा समीक्षा गरिनेछ ।”

यसैबीच, सेरमले बुधबार भारतीय राज्यहरुका लागि कोभिसिल्डको प्रति डोज मूल्यलाई समायोजन गरी भारु ४०० बाट भारु ३०० बनाएको जनाएको छ । भारतको केन्द्रीय गृह मन्त्रालयले पूनावालालाई वाई वर्गीकरणको सुरक्षा दिइएको जनाएको छ । केहीअघि प्रमुख कार्यकारी पूनावालाले खोप उत्पादनलाई तीव्रता दिन भारत सरकारसमक्ष आर्थिक सहायताका लागि आग्रह गर्नुभएको थियो । भारत सरकारले कोभिसिल्ड खोप विदेश निर्यात गर्न रोकेपछि सेरमले भारत सरकारसमक्ष आर्थिक सहायता माग गरिरहेको छ भने कोभिसिल्डको खोप विदेश निर्यात गर्न नदिइएको भन्दै सेरमसँग सम्झौता गरिसकेका अन्य मुलुकले पनि आपत्ति जनाएका छन् ।

तपाईको प्रतिक्रिया