दक्ष जनशक्तिको अभावमा आठ लाख श्रमिक भारतबाट

  बैशाख १९, २०७८

काठमाडौँ, वैशाख १९ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले नेपालमा दक्ष जनशक्ति नहुँदा आठ लाख श्रमिक भारतबाट ल्याउनुपरेको बताउनुभएको छ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले १३२औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शनिबार आयोजना गरेको अभौतिक कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

अध्यक्ष गोल्छाले श्रमिकसँगको सम्बन्ध सुधार भइरहे पनि यसलाई दिगो र भरपर्दाे बनाउन अझै धेरै काम गर्न बाँकी रहेको पनि बताउनुभयो । श्रम सम्बन्धलाई दिगो र भरपर्दो बनाउन लगानी प्रवद्र्धन, रोजगारी सिर्जना, उद्यमशीलता विकास, श्रम सम्बन्ध सुधारजस्ता विषयलाई मुख्य प्राथमिकतामा राखेर जानुपर्ने उहाँको भनाइ छ । सामाजिक सुरक्षा योजना कार्यान्वयनमा समस्या देखिएको भन्दै उहाँले उक्त योजनाको प्रभावकारी कार्यान्वयनमा समस्या आइरहेकाले यसको व्यावहारिक समाधान खोजिनुपर्नेमा जोड दिनुभयो ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष जगत सिम्खडाले कोरोनाको जोखिम पहिलेकै अवस्थामा पुगे पनि श्रमिकको श्रम कटौती गरे पनि रोजगारी कटौती गर्न नहुने बताउनुभयो । सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयनमा रोजगारदाताको उदासीनता देखिएकाले यसमा जिम्मेवार बन्न रोजगारदातालाई आग्रह गर्नुभयो ।

नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष पुष्कर आचार्यले कोषमा संलग्न कतिपय श्रमिकको योगदान रकम रोजगारदाताले कोषमा जम्मा नगरेका कारण श्रमिक सामाजिक सुरक्षाको लाभबाट वञ्चित भएको बताउनुभयो । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठले विदेशमा कार्यरत लाखौँ नेपाली श्रमिकले हालको महामारीको समयमा विभिन्न समस्या बेहोर्नुपरिरहेको भन्दै उनीहरूको समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न प्रभावकारी पहल गर्न आग्रह गर्नुभयो ।

उहाँले अहिले पुनः देशका विभिन्न जिल्लामा बन्दाबन्दी तथा निषेधाज्ञा सुरु भएका कारण यसबाट दैनिक ज्यालादारीमा काम गर्ने श्रमिक तथा सडकपेटीमा पसल व्यवसाय गर्ने स्वरोजगार श्रमिकलाई साँझ बिहानको खानाको जोहो गर्न समस्या भएको भन्दै ती श्रमिकका लागि अविलम्ब उचित व्यवस्था गर्न सरकारसमक्ष माग गर्नुभयो ।

न्यूनतन पारिश्रमिक १५ हजार पु-याइने घोषणा
प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको न्यूनतम तलब १५ हजार रुपियाँ पु¥याइने बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शनिबार बिहान शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले श्रमिकको न्यूनतम पारिश्रमिक आगामी आर्थिक वर्षदेखि लागू हुनेगरी १५ हजार बनाइने घोषणा गर्नुभएको हो ।

उहाँले श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४५० रुपियाँबाट बढाएर आउँदो आर्थिक वर्षदेखि १५ हजार रुपियाँ पु¥याइने प्रतिबद्धता व्यक्त गर्नुभयो । यो लागू भएसँगै श्रमिकको दैनिक पारिश्रमिक ५१७ रुपियाँबाट बढेर ५७७ रुपियाँ हुनेछ । उहाँले वैदेशिक रोजगारीमा गएका नेपालीको सुरक्षा र मर्यादाका लागि गन्तव्य देशसँग श्रम सम्झौता गरिएको र देशभित्रैका मजदुरको सुरक्षाका लागि सामाजिक सुरक्षा कोष, बेरोजगार भत्तालगायतको व्यवस्था गरिएको पनि बताउनुभयो ।

तपाईको प्रतिक्रिया