कोरोना संक्रमणबाट कञ्चनपुरमा तीन र कैलालीमा दुईको मृत्यु

  बैशाख १८, २०७८

कञ्चनपुर, वैशाख १८ : कञ्चनपुरमा कोरोना भाइरसको सङ्क्रमणबाट गए राति तीन जनाको मृत्यु भएको छ । दुई जनाको महाकाली अस्पतालमा उपचारका क्रममा र एक जनाको होमआइसोलेशनमा मृत्यु भएको हो ।

महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका भीमदत्त नगरपालिका–१८ का ५२ वर्षीय पुरुष र सोही नगरपालिका १४ का ४८ वर्षीय महिलाको मृत्यु भएको महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा गोविन्द रोकायाले बताउनुभयो । यसैगरी भीमदत्त नगरपालिका–१८ का ६८ वर्षीय पुरुषको होमआइसोलेशनमा मृत्यु भएको छ ।

यसैबीच पश्चिमी सीमानाका गड्डाचौकी र गौरीफण्टा हँुदै शुक्रबार भारतबाट भित्रिएका एक हजार ७६९ मध्ये २८४ जनाको एन्टिजेन परीक्षण गरिएकामा ३३ जनाको परीक्षणको नतिजा पोजेटिभ आएको छ ।

कैलालीमा थप दुईको मृत्यु
कैलालीमा थप दुई कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु हुनेमा जिल्लाको जानकी गाउँपालिका–३ की ५९ वर्षीया महिलाको गए राति कैलालीको टीकापुरमा रहेको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यस्तै जिल्लाको लम्कीचुहा नगरपालिका–५ की ५० वर्षीया कोरोना सङ्क्रमित महिलाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । वैशाख ११ गतेदेखि सेती अस्पतालमा उपचाररत उनको गए राति १ः०० बजे मृत्यु भएको सूचना अधिकारी जोशीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया