भारतबाट अमेरिका आउन प्रतिबन्ध

  बैशाख १८, २०७८

वासिङटन, बैशाख १८ : भारतबाट अमेरिका आउन अमेरिकी सरकारले प्रतिबन्ध लगाएको छ । भारतमा कोरोनाभाइरसको महामारी तीव्र रूपमा फैलिएकाले त्यसको असर अमेरिकामा पनि पर्ने डरले भारतबाट आउनेहरूलाई अमेरिकामा प्रतिबन्ध लगाइएको हो ।

भारतबाट अमेरिका आउन प्रतिबन्ध लगाउनेसम्वन्धी निर्णयमा राष्ट्रपति जो वाइडेनले शुक्रबार हस्ताक्षर गर्नुभएको छ । अमेरिकी नागरिकलाई भने रोक नलगाइएको, तर उनीहरु आएपछि कम्तीमा १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरिएको पनि अधिकारीहरूले जनाएका छन् ।

भारतबाट अमेरिका आउन प्रतिबन्ध लगाउने निर्णय मे ४ देखि लागु हुने र यो निर्णय अस्थायी भएको जनाइएको छ । अस्थायी भए पनि कहिलेसम्म लागु हुनेछ भन्ने अनिश्चित नै  छ ।

भारतमा अहिले कोरोनाभाइरसको महामारी अत्यधिक छ भने दैनिक लाखौँ सङ्क्रमित हुने गरेका छन् । अरु हजारौंको मृत्यु हुने गरेको छ । भारतको महामारी सर्ने डरले अन्य देशहरूले पनि भारतबाट आवागमनका लागि प्रतिबन्ध लगाएका छन् ।

तपाईको प्रतिक्रिया