नेपालगञ्जमा अक्सिजनसहितको ५० बेडको आईसोलेसन केन्द्र सञ्चालनमा

  बैशाख १८, २०७८

नेपालगञ्ज, वैशाख १८ : कोरोनाको दोस्रो लहरमा संक्रमितको संख्या अत्याधिक बढेपछि सहरका अस्पतालमा बेड अभाव भएपछि सो अभाव टार्न नेपालगञ्ज उपमहानगरपालिकाले असिक्जन सहितको ५० बेडको आईसोलेसन केन्द्र सञ्चालनमा आएको छ ।

भेरी अस्पतालको प्रत्यक्ष निगरानीमा नेपालगञ्जको रामलिला मैदानस्थित तालिम केन्द्रमा अक्सिजनसहितको ५० बेडको आईसोलेसन केन्द्र सञ्चालनमा ल्याईएको नेपालगञ्ज उपमहानगरका उपमेयर उमा थापा मगरले बताउनुभयो । उहाँले सो आईसोलेसन केन्द्र सञ्चालनमा आएपछि भेरी अस्पतालको चाप कम गर्न सहयोग पुग्ने बताउनुभयो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी गेलालले कोरोना यो आइसोलेसनले बेड नपाएर छटपटाईरहेका विरामीलाई राहात पुग्ने जनाउँदै संक्रमण समुदायस्तरमा फैलिसकेकोले यसको रोकथाम र नियन्त्रणका लागि आफुहरु दिनरात खटिएको बताउनुभयो ।

भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले भेरी अस्पतालको प्रत्यक्ष निगरानीमा यो सेन्टर सञ्चालनमा रहने हुँदा यहाँ विरामीलाई कुनै समस्या नहुने बताउनुभयो । उपमेयर उमाथापा मगरका अनुसार आईसोलेसनमा बस्नेहरुलाई खाना र खाजाको समेत व्यवस्था उपमहानगरपालिकाले गरेको छ । यसैगरी विरामी ल्याउनका लागि निशुल्क एम्बुलेन्स सेवा समेत प्रदान गरिने उहाँले बताउनुभयो ।

उप–महानगरपालिकाका २३ वटै वडामा रहेका होम आईसोलेसन फोकल पर्सनहरुको सिफारिसका आधारमा संक्रमितहरुलाई सो अक्सिजनसहितको आईसोलेसनमा राखिने भएको छ । यसैबीच नेपालगञ्ज वडा नम्बर ४ का वडा अध्यक्षले पनि आफ्नो वडामा २५ बेडको अक्सिजनसहितको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याउन लाग्नु भएको छ ।

सो आइसोलेसन केन्द्रको निर्माणको सबै काम पूरा भैसकेको र चिकित्सक र स्वास्थ्यकर्मी समेत नियुक्त गरिसकेकोले बैशाख २० गतेबाट सो आइसोलेसन सेन्टर पनि सञचालनमा ल्याईने वडा नम्बर ४ का वडा अध्यक्ष सफिक बेहनाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया