विराटनगरमा शनिबार बिहान तीनजना सङ्क्रमितको मृत्यु

  बैशाख १८, २०७८

विराटनगर, वैशाख १८ : विराटनगरमा कोरोना भाइरस सङ्क्रमित तीन जना पुरुषको शनिबार बिहान मृत्यु भएको छ। एक जनाको हृदयघातका कारण ज्यान गएको हो। मृत्यु हुनेमध्ये एक जना विराटनगर र अरु दुई जना प्रदेश २ को सप्तरी र महोत्तरीका हुन्। तीनै जनाको उपचारका क्रममा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको आइसोलेसनमा मृत्यु भएको प्रवन्धक नारायण दाहालले जानकारी दिनुभयो ।

कोरोनाको उपचारका लागि अस्पताल भर्ना गरिएका विराटनगर महानगरपालिका–३ का ५५ वर्षीय पुरुषको शनिबार बिहान ५ः५० बजेतिर मृत्यु भएको थियो । अस्पतालका प्रबन्धक दाहालका अनुसार कोरोना सङ्क्रमणसँगै मृतकलाई एक्कासि हृदयघातको समस्या पनि थपिएको थियो। अचानक हृदयघात भएपछि थप उपचार गर्न नपाउँदै सङ्क्रमित पुरुषको मृत्यु भएको जानकारी चिकित्सकले दिएको हो ।

मृतक पुरुषको कोसी अस्पताल विराटनगरमा पीसीआर परीक्षण गराउँदा वैशाख १५ गते रिपोर्ट पोजिटिभ आएको थियो। स्वास्थ्य अवस्था सामान्य रहेका उनी होम आइसोलेसनमा थिए। तर श्वासप्रश्वासमा अचानक समस्या भएको भन्दै शुक्रबार बिहान ११ बजेतिर उपचारका लागि नोबेल ल्याइएका संक्रमितलाई बचाउन नसकिएको दाहालले बताउनुभयो ।

त्यस्तै नोबेलमै उपचाररत सप्तरीको राजविराज–९ का ४५ वर्षीय कोरोना सङ्क्रमित पुरुषको पनि बिहान मृत्यु भएको छ। कोरोना सङ्क्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि शुक्रबार दिउँसो १ बजेतिर अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा मृत्यु भएका संक्रमितमा उच्च रक्तचाप र मधुमेहको पुरानै समस्या देखिएको थियो । सङ्क्रमित पुरुषको बिहान ५ः४५ बजेतिर मृत्यु भएको हो ।

नोबेलमै उपचाररत महोत्तरी घर भएका अर्का सङ्क्रमितको पनि बिहान ६ः१५ बजेतिर मृत्यु भएको छ । महोत्तरीको महत्तरी–६ का ३५ वर्षीय पुरुषको उपचारकै क्रममा मृत्यु भएको प्रवन्धक दाहालले जानकारी दिनुभयो । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि शुक्रबार दिउँसो अस्पताल भर्ना गरिएको थियो । कोरोनाका कारण मृत्यु भएका तीनै जनाको शव व्यवस्थापनका लागि पहल भइरहेको बताए ।

तपाईको प्रतिक्रिया