‘श्रमको सम्मान र सामाजिक सुरक्षा आवश्यक’

  बैशाख १८, २०७८

काठमाडौँ, वैशाख १८ : राष्ट्रपति विद्यादेवी भण्डारीले जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न र निषेधाज्ञाका नियम कडाइका साथ अवलम्बन गर्न आह्वान गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना दिनुहुँदै राष्ट्रपतिले मुलुकको उन्नति र प्रगतिका लागि निरन्तर आफ्नो कर्मक्षेत्रमा जुट्ने असङ्ख्य श्रमिकहरूप्रति सम्मान प्रकट गर्नुभएको छ ।

विश्‍वभरिका श्रमिकहरूको ऐक्यबद्धता एवं श्रमको सम्मानका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रूपमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइन्छ भन्दै उहाँले यस दिवसले श्रमिक अधिकारको रक्षार्थ सम्पूर्ण श्रमजीवीलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास शुभकामना सन्देशमा व्यक्त गर्नुभएको छ ।

देश कोभिड–१९ महामारीको गम्भीर अवस्थाबाट गुज्रिरहेकाले महामारीविरुद्ध अग्रपङ्क्तिमा काम गर्ने श्रमिकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुहुँदै उहाँले श्रमिकहरूको सुरक्षा एवं प्रोत्साहनका लागि उचित व्यवस्था गर्न तथा रोजगारी गुमाउने श्रमिकहरूको जीविकोपार्जनका लागि आवश्यक प्रबन्ध गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनुभएको छ ।

सन्देशमा राष्ट्रपतिले भन्नुभएको छ, ‘‘उद्यमशीलताको विकास गर्न पुँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिकहरू दुवैको योगदान उत्तिकै महìवपूर्ण हुन्छ, यसका लागि मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्छ ।’’

‘‘श्रमको सम्मान, सुरक्षित कार्यथलो, सामाजिक सुरक्षा, आफ्नो जीवनलाई प्रभावित पार्ने नीति निर्णयमा सहभागिताका साथै लैङ्गिकलगायत सबै प्रकारका विभेदको अन्त्य गर्दै सबैका लागि फलदायी रोजगारीको सिर्जना गर्न नेपाल सरकार कटिबद्ध रहँदै आएको छ’’, राष्ट्रपतिको सन्देशमा भनिएको छ ।

तपाईको प्रतिक्रिया