उत्तरी इजरायलमा भागदौड मच्चिँदा ४४ जनाको मृत्यु

  बैशाख १८, २०७८

जेरुसेलम, बैशाख १७ : इजरायलमा बिहीबार राति आयोजित एक धार्मिक समारोहमा भागदौड मच्चिंदा कम्तीमा ४४ जनाको ज्यान गएको छ । यहुदीहरुको नयाँ वर्ष मनाउन कम्तीमा एक लाख मानिस भेला भएका स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । यहुदी नयाँ वर्ष “लाग बाओमर”को पूर्व सन्ध्यामा हरेक वर्ष उत्तरी इजरायलको माउन्ट मेरोनमा ठूलो संख्यामा मानिस भेला हुने प्रचलन छ ।

इजरायली सञ्चार माध्यमको अनुमान अनुसार, करिब एक लाख मानिस उक्त समारोहमा सहभागी थिए जसमा अति दक्षिणपन्थी यहुदीको सहभागिता बढी थियो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले ट्वीट गर्दै माउन्ट मेरोनमा निकै दुःखद घटना भएको छ, र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु भन्नुभएको छ । उहाँले माउन्ट मेरोनमा उद्धार कार्यलाई तिब्र बनाउन आदेश दिइसकेको बताउनुभएको छ ।

इजरायली राष्ट्रपति रुभेन रिभलिनले पनि ट्वीट गर्दै घाइतेको उद्धार कार्यलाई तीव्र बनाउन आग्रह गर्नुभएको छ । शुरुमा उक्त दुःखद घटना मञ्च भत्किएर भएको अनुमान गरिए पनि इजरायली एम्बुलेन्स सेवा मागेन डेभिड एडोम ९एमडिए० ले भिडका कारण उक्त दुर्घटना भएको बताएको छ । एमडिएले घाइतेहरुलाई उद्धार गरिएको र केहीलाई हेलिकप्टरबाट बाहिर निकालिएको जनाएको छ ।

घाइतेहरुलाई उत्तरी इजरायल र जेरुसलेममा भर्ना गरिएको छ । युनाइटेड हजलाह आपतकालीन स्वास्थ्य सेवाले आफ्ना संस्थाका स्वयंसेवीले घटनास्थलबाट दर्जनौं व्यक्तिलाई उद्धार गरेको जनाएको छ । सरकारले कोभिड–१९ को सभङ्क्रमण फैलिन सक्ने भन्दै आम नागरिकलाई सचेत रहन आग्रह गरेको छ । सरकारले कोरोनाभाइरस फैलन नपाओस् भन्नका लागि खोप लगाएका, कोभिबाट सङ्क्रमणमुक्त भएका वा परीक्षणमा सङ्क्रमण नदेखिएका व्यक्तिलाई मात्र माउन्ट मेरोनको भ्रमण गर्न अनुमति दिएको थियो । तर सरकारले अनुमति दिएको भन्दा धेरै व्यक्ति उक्त समारोहमा सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया