तामाकोशीको सुरुङमा पानी, जेठ १५ मा ७६ मेगावाट उत्पादन

  बैशाख १८, २०७८

चरिकोट, (दोलखा) बैशाख १७ : विगत १० वर्षदेखि दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उत्पादन निश्चित भएको छ ।

स्वदेशी लगानीमा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले बिहीबारबाट मुख्य सुरुङमा पानी पठाएर परिक्षण कार्य सुरु गरेसंगै उत्पादन निश्चित भएको हो ।भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ र सरकारका प्रवक्ता एव्म सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले स्वीच अन गरी दयाँ र बायाँ इन्टेक गेट खोलेर आयोजनाको वाटर–वे मा पानी भर्ने कार्यको शुभारम्भ गर्नुभएको छ ।

सुरुमा इन्टेक कल्भर्ट र बालुवा थिग्रयाउने पोखरीमा पानी भरिनेछ भने त्यसपछि चरणबद्ध ढंगले आठ किलोमिटरको हेडरेस टनेल र एक हजार एक सय ६५ मिटरको पेनस्ट पाइपमा पानी छोड्दै, रोक्दै अनुगमन र परीक्षण हुने आयोजनाको प्रवक्ता डा.गणेश न्यौपानेले बताउनुभयो । यसरी पानी भर्दा विभिन्न नौ वटा चरणहरुमा इन्टेकबाट थोरैथोरै मात्रामा पानी पठाउने र अनुगमनका लागि हरेक चरणमा १२ देखि ४८ घण्टासम्म रोक्दै सुरक्षामा विशेष सतर्कता अपनाउदै सुक्ष्म रुपमा संरचनाहरु र उपकरणहरुको परीक्षण गरिनेछ ।

‘परिक्षणको क्रममा कुनै जटिल समस्या नआएमा सिभिल र हइड्रो मेकानिकलको यो कार्य वैशाख २९ मा सम्पन्न हुन्छ ।’ उहाँले भन्नुभयो, ‘त्यसपछि १० दिनभित्र इलेक्ट्रोमेकानिकल परीक्षण सम्पन्न गर्नेछाैं ।’ सिभिल र हाइड्रो मेकानिकल संरचनामा पानी परीक्षण कार्य सफलतापूर्वक सम्पन्न भएपछि मुख्य सुरुङ र पेनस्टकमा जम्मा भएको पानीले भूमिगत विद्युतगृहमा जडान गरिएका ६ वटा टर्बाइन र ६ वटा जेनेरेटरहरूको क्रमैसँग परीक्षण र कमिसनिङ प्रारम्भ हुनेछ ।

यस क्रममा पहिलो युनिटबाट यही जेठ १५ गते ६७ मेगावाट विद्युत उत्पादन सुरु हुने प्रवक्ता डाक्टर न्यौपानेले बताउनुभयो । आयोजनामा ७६–७६ मेगावाटका ६ वटा युनिटहरू जडान गरिएको छ । पहिलो युनिटबाट विद्युत उत्पादन भएपछि बाँकी युनिटहरूबाट क्रमशः विद्युत उत्पादन हुने उल्लेख गर्दै उहाँले भन्नुभयो ‘चालू आर्थिक वर्षभित्र सम्पूर्ण निर्माण सम्पन्न गरी ४५६ मेगावाट नै विद्युत उत्पादन हुनेमा आशावादी छा ैं।’ सुरुङमा पानी पठाउनु अघि लामाबगरमा निर्माण गरिएको एक सय मिटर लम्बाइ र २२ मिटर उचाइ भएको बाँधमा गत बुधबारदेखि पानी भर्न सुरु गरिएको थियो ।

तपाईको प्रतिक्रिया