संयुक्त राष्ट्र्सङ्घले कोभिड विरुद्ध लड्न भारतलाई सघाउने

  बैशाख १७, २०७८

संयुक्त राष्ट्रसङ्घ, वैशाख १६ : संयुक्त राष्ट्रसङ्घले कोभिड १९ का विरुद्धमा लड्न भारतलाई सघाउने सङ्घका प्रवक्ताले बुधबार जानकारी दिनुभएको छ । उहाँका अनुसार कोभिड १९ को सङ्क्रमणका कारण हाल भारतको अवस्था निकै जटिल भएकोले संयुक्त राष्ट्रसङ्घले यसका विरुद्धमा भारतलाई सघाउने भएको हो ।

संयुक्त राष्ट्रसङ्घका विशिष्ठ जनस्वास्थ्यविद्सहितको समूह हाल भारत पुगेको छ । साथै संयुक्त राष्ट्रसङ्घले पनि आवश्यक औषधि तथा स्वास्थ्य उपकरणहरु भारतलाई सहयोग गरिरहेको जनाएको छ । विश्व स्वास्थ्य सङ्गठन र संयुक्त राष्ट्रसङ्घीय बालकोषले भारतका लागि अक्सिजनका लागि आवश्यक उपकरणहरु खरिद गरेर पठाएको बताएका छन् ।

त्यस्तै भारतका अस्पतालहरुमा आवश्यक भेन्टिलेटरहरु पनि पठाइएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । यसका साथै विश्व स्वास्थ्य सङ्गठन र संयुक्त राष्ट्रसङ्घीय विभिन्न निकायले भारतलाई पिपिइ, पिसिआर परीक्षण गर्ने मेसिनका साथै अरु उपकहरणहरु पनि पठाएको जनाएका छन् ।

भारतको सबैभन्दा बढी प्रभावित रहेको राज्य महाराष्ट्रका लागि विश्व स्वास्थ्य सङ्गठनले २ हजार ६०० भन्दा बढी स्वास्थ्यकर्मी, चिकित्सकहरु तथा अन्य अधिकारीहरु पठाएको जनाएको छ । ती जनशक्तिको माध्यमबाट विशेषगरी महाराष्ट्रमा घुम्ती अस्पतालहरु राखिएका छन् ।

ती अस्पतालहरुमा पिसिआर परीक्षणका साथै आवश्यक स्वास्थय उपचार पनि उपलब्ध गराइएको बताइएको छ । भारतमा हाल कोभिडको अवस्था निकै तीब्र गतिमा बृद्धि भएको छ । यहाँ दिनहुँ लाखौँ जना नागरिक कोभिडबाट सङ्क्रमित हुने गरेका छन् भने कम्तीमा पनि दुई हजार जना मानिसकाे यही सङ्क्रमणबाट  मृत्यु हुने गरेकाे छ ।

तपाईको प्रतिक्रिया