मङ्गलवार बाँकेमा १०६ जना सङ्क्रमित निको भएर घर फर्किए

  बैशाख १४, २०७८

नेपालगञ्ज, वैशाख १४ : दोस्रो लहरको कोराना हटस्पट बनेको बाँकेमा सङ्क्रमितहरु निको हुने क्रम निरन्तर जारी छ । मङ्गलवार पनि जिल्लामा १०६ जना सङ्क्रमितले कोरोनालाई परास्त गरेर डिस्चार्ज भै घर फर्किएका छन् । यसअघि सोमवार पनि १२५ जनाले कोरोना सङ्क्रमणमुक्त भै निको भएर आ आफ्नो घर फर्किएका थिए ।

जिल्ला कोभिड–१९ सङ्कट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार मङ्गलवार जिल्लाका होम आइसोलेसन र अस्पतालमा रहेका सङ्क्रमितमध्ये ५० जना महिला र ५६ जना पुरुष गरेर १०६ जना कोरोना सङ्क्रमणमुक्त भै घर फर्किएका छन् । मङ्गलवार निको भएका १०६ जनासँगै वैशाख १ गतेदेखि हालसम्म जिल्लामा ५३२ जना सङ्क्रमितले कोरोनालाई परास्त गरिसकेका छन् ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार जिल्लामा सङ्क्रमित थपिने क्रममा तीव्र रहे पनि निको हुने क्रम समेत बढेकोले छिटै धेरै जना निको भएर घर फर्किने र स्थिति पुनः नियन्त्रणमा आउने विश्वास बढ्दै गएको छ । फोकल पर्सन ओलीले सङ्क्रमितको सङ्ख्या एक्कासि ह्वात्तै बढेकोले पछिल्लो समयमा आएर भेरी अस्पताल र मेडिकल कलेजमा शैया थप गर्नुका साथै खजुरा, कोहलपुर र नेपालगञ्जमै समेत अक्सिजनसहितका आइसोलेसन अस्पतालहरु निर्माण गरिएपछि उपचारमा सहज हुन थालेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया