अक्सिजन सिलिन्डर आयातमा सहजीकरण माग

  बैशाख १४, २०७८

विराटनगर, वैशाख १४ : कोरोना सन्त्रास बढ्दै गए आवश्यक पर्ने अक्सिजनको आपूर्ति प्रणालीमा समस्या आउने भन्दै अक्सिजन उत्पादक कम्पनीका सञ्चालकले तत्काल सिलिन्डर आयातमा सरकारी सहजीकरणको माग गरेका छन् । अक्सिजन नेपालमै उत्पादन हुने भए पनि भर्नका लागि आवश्यक पर्ने सिलिन्डर भारत र चीनबाट आयात हुने गरेकाले तत्काल आवश्यक पर्दा समस्या नहुने गरी समयमै सिलिन्डर आयातमा सहजीकरणको माग गरेका हुन् ।

सामान्य अवस्थामै अस्पताल र व्यक्तिले घरमा होल्ड गरेका सिलिन्डरका कारण अभाव देखिन थालिसकेको उनीहरूको दाबी छ । अक्सिजन सिलिन्डर अभाव हुनसक्ने सङ्केत देखापरेको भन्दै उनीहरूले आयातमा भन्सार सहुलियतसहित सहजीकरण गरिदिन आग्रह गरेका छन् ।
कोरोना सङ्क्रमणको दोस्रो स्वरूपको सन्त्रासमा रहेका भारतलगायतका देशमा समेत आपूर्ति प्रणाली सहज बनाउन सरकारी तवरबाट सहजीकरण भइरहेको विराटनगरका उद्योगीको भनाइ छ ।

मारुती अक्सिजन उद्योगका सञ्चालक शङ्करलाल अग्रवालका अनुसार फलामे वस्तुमा एक वर्षयता विश्वव्यापी मूल्य वृद्धि भएका कारण सिलिन्डरसमेत महँगो भएको छ । यस्तो समयमा सरकारले पैठारीमा १५ प्रतिशत भन्सार महसुल, ५ प्रतिशत अन्तःशुल्क र भ्याट तोकेर बस्नु गलत हुने उद्योगी अग्रवालको भनाइ छ । उद्योगीले सिलिन्डरको ढुवानी खर्चसमेत जोड्दा ५० प्रतिशत मूल्य अभिवृद्धि हुने दाबी गर्दै सरकारले शून्य वा १ प्रतिशतमा महसुलमा सिलिन्डर आयात गर्न सहजीकरण गर्नुपर्ने बताएका हुन् ।

सिलिन्डर आयातका लागि एलसी खोलेको दुई महिनापछि मात्रै नेपाल आइपुग्ने सञ्चालक अमित शारडाको भनाइ छ । शारडाले पछिल्लो दुई सातायता घरघरमा सिलिन्डर किनेर राख्नेको सङ्ख्या बढ्दै गएको र अस्पतालमा समेत सिलिन्डर होल्ड भइरहेकाले समस्या परिरहेको बताउनुभयो । मोरङका उद्योगले उत्पादन गरेको अक्सिजन सिलिन्डर विराटनगर, सुनसरीको इटहरी, धरान, झापाको दमक, बिर्तामोड, काँकडभिट्टा र भद्रपुरसम्म बिक्री वितरण गर्दै आएका छन् ।

विराटनगरमा विनायकले दैनिक पाँच सय र मारुतीले तीन सय सिलिन्डर भर्ने क्षमता राख्दछन् । हाल १० लिटर अक्सिजन सिलिन्डरको खुद्रा मूल्य २५० र ४७ लिटर सिलिन्डरको छ सय रुपियाँ कायम गरिएको छ । यदि सिलिन्डरसहित खरिद गर्दा १० लिटरको नौ हजार र ४७ लिटरको २० हजार रुपियाँसम्म पर्दछ ।

तपाईको प्रतिक्रिया