कोरोना संक्रमित संख्या बढ्न थालेपछि वैशाख १६ देखि राजधानीमा निषेधाज्ञा

  बैशाख १४, २०७८

काठमाडौँ, वैशाख १४ : कोरोना सङ्क्रमितको सङ्ख्या वृद्धि हुन थालेपछि सरकारले बिहीबारदेखि देशका विभिन्न स्थानमा अवस्था हेरी निषेधाज्ञा गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १६ गते बिहान ६ बजेदेखि राजधानीमा निषेधाज्ञा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले कोरोना महामारी नियन्त्रण गर्न सङ्क्रमण बढी भएका ठाउँहरूमा सङ्क्रमितको सङ्ख्याका आधारमा निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले उपत्यकालगायत सहरी क्षेत्रमा पाँच सयभन्दा बढी सङ्क्रमित भएको अवस्थामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्नसक्ने निर्णय गरेको जानकारी दिनुभयो । पहाडी र हिमाली जिल्लामा दुई सयभन्दा बढी सङ्क्रमित भएको अवस्थामा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा गर्न सक्ने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो । यसैगरी काठमाडौँ उपत्यका भित्रने सवारी साधन बन्द गर्ने निर्णय गरिएको उहाँले बताउनुभएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

बैठकले आन्तरिक उडान व्यवस्थित गरी सञ्चालन गर्ने निर्णय गरेको छ । उपत्यकाबाहिर बिरामी थपिँदै गए कतिपयलाई हवाई सेवा आवश्यक पर्नसक्ने भएकाले आन्तरिक उडान व्यवस्थित रूपमा सञ्चालन गर्न खोजिएको पनि उहाँले स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “एक हप्तासम्म आन्तरिक उडान सञ्चालन गरेर हेर्न खोजिएको हो ।” बैठकले अन्तर्राष्ट्रिय उडानबाट आएका विदेशीलाई होटलमा राख्ने र नेपाली नागरिकलाई घरमा क्वारेन्टाइनमा राख्ने निर्णय गरेको जानकारी मन्त्री अर्यालले दिनुभयो ।बैठकले पठनपाठन अनलाइनमार्फत मात्रै सञ्चालन गर्न र अर्को सूचना नभएसम्म सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया