दिल्लीमा १८ वर्षमाथिका सबैलाई कोरोनाको खोप लगाइने

  बैशाख १३, २०७८

नयाँ दिल्ली, वैशाख १३ : भारतको दिल्ली प्रदेशमा १८ वर्ष माथिका सवैलाई कोरोनाभाइरस विरुद्धको खोप लगाउन पाइने व्यवस्था गरिएको छ ।

मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्रीय राजधानी नयाँ दिल्लीमा रहेका सार्वजनिक अस्पतालहरूमा निःशुल्क खोप लगाउन पाइने व्यवस्था गर्ने निर्णय भएको सोमबार जानकारी दिनुभयो ।

अहिले बचत रहेको एक करोड ३४ लाख खोप आम सर्वसाधारणलाई लगाउन थालिने उहाँले बताउनुभयो । “दिल्ली सरकारले १८ बर्ष माथिका सवैलाई कोरोनाभाइरस विरुद्धको खोप निःशुल्क लगाइदिने व्यवस्था गर्ने निर्णय गरेको छ,” उहाँले भन्नुभयो ।

उहाँले अहिले भएको खोप सकिएपनि अरु खोप बचत नै रहने गरी व्यवस्था गर्न प्रयास गर्ने आश्वासन पनि दिनुभयो । सवैलाई निःशुल्क खोपको व्यवस्था गर्ने निर्णय अन्य प्रदेशहरूले भने यसअघि नै गरिसकेका थिए । दिल्ली बाहेक महाराष्ट्र, कर्नाटक, हरियाणा, ओडिसा, झारखण्ड र पश्चिम बङ्गालमा सबैलाई निःशुल्क खोपको व्यवस्था गरिएको हो ।

आम नागरिकले कारोनाको खोप लगाएमा सङ्क्रमित हुने र मृत्यु हुनेको सङ्ख्या न्युनिकरण हुने मुख्यमन्त्री केजरीवालले विश्वास लिनुभएको छ । जति धेरै जनालाई खोप लगाउन सकियो, त्यति धेरै महामारीलाई कम गर्न सकिने उहाँको भनाइ छ ।

भारतमा प्राथमिकता निर्धारण गरेर उच्च प्राथमिकतामा परेकाहरुलाई खोप लगाउन दिइएको थियो भने सर्वसाधारणलाई अहिले मात्र विभिन्न प्रदेशमा सुरु गरिएको छ ।

केन्द्रीय सरकारले भने आगामी मे १ देखि मात्रै देशभरीका १८ बर्ष माथिका सबैलाई खोप लगाउने व्यवस्था गर्ने घोषणा गरेको थियो । भारतमा कोरोनाभाइरसविरुद्धको कोभिसिल्ड र कोभ्याक्सिन खोप आँफै उत्पादन गर्दै विक्री वितरण हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया