काठमाडौँ, वैशाख १३ : सरकारले आन्तरिक उडान चालु राख्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोरोना नियन्त्रणका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को आइतबार बसेको बैठकले गरेका सिफारिस पनि पारित गरेको छ ।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार मन्त्रिपरिषद् बैठकले तत्काल आन्तरिक उडान चालु राख्ने निर्णय गरेको हो । ‘जुन मापदण्ड बनेको छ त्यही मापदण्डअनुसार उडान सञ्चालन गर्ने भन्ने निर्णय भएको छ । अन्तर्राष्ट्रिय उडानमा यात्रा गर्नका लागि तोकिएको ल्याबबाट पीसीआर परीक्षणको रिपोर्ट लिनुपर्ने निर्णय भएको हो ।’
बैठकले सीसीएमसीको सिफारिसअनुसार २०० सक्रिय कोरोना संक्रमित भएका पहाडी जिल्लामा निषेधाज्ञा लगाउने र ५०० सय सक्रिय संक्रमित रहेका सहरी क्षेत्रमा पनि निषेधाज्ञा लगाउने निर्णय भएको छ ।
कोरोना संक्रमितको संख्या बढ्न लागेका क्षेत्रमा यातायात सञ्चालनमा निषेध लगाउने निर्णय मन्त्रिपरिषद्ले गरेको हो । त्यसको जिम्मा स्थानीय प्रशासनलाई दिन सीसीएमसीले सिफारिस गरेको थियो ।






