गाउँ पसेको चितुवाको आक्रमणबाट एक जना घाइते

  बैशाख १३, २०७८

धनगढी, वैशाख १३ : कैलालीको कैलारी गाउँपालिका–५ पवेरा गाउँमा सोमबार विहान पसेको चितुवाको आक्रमणबाट एक जना घाइते हुनु भएको छ । चितुवाले पञ्जा हान्दा अन्दाजी ४४ वर्षीय धनीराम कठरिया घाइते हुनु भएको हो ।

गाउँ पसेको चितुवालाई मान्छेले घेरेर जिस्काएपछि रिसाएको चितुवाले कठरियाको हातमा पञ्जा हानेको स्थानीय राधा चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार विहान श्री जनकल्याण माध्यमिक विद्यालय आसपासको खेतमा चितुवा देखिएको थियो ।

चितुवा हेर्न मान्छेको भीड लागेपछि तर्सिएको सो हिस्रक वन्यजन्तु विद्यालय नजिकको कुलोमा पसेको थियो । त्यहाँ पनि मान्छेले चितुवालाई घेरेर जिस्काउन थालेपछि आक्रमण गरेको जनाइएको छ ।

गाउँमा चितुवा पुगेपछि त्यसबाट मानवीय क्षति हुन नदिनका लागि विहानैदेखि प्रहरी परिचालन गरिएको थियो । चितुवालाई नियन्त्रणमा लिने कार्य भइरहेको डिभजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले बताउनुभयो ।

‘नियन्त्रणमा लिएर त्यसलाई कहाँ छाड्ने भन्ने सल्लाह भइरहेको छ’, उहाँले भन्नुभयो । ‘स्थानीय उपभोक्ताले आफ्नै ठाउँको वनमा छाड्न भन्छन् भने त्यहिँ छाडछौं । यदि, अन्यत्र लैजान भन्छन् भने सम्भवतः बर्दिया राष्ट्रिय निकुञ्जमा पठाउँछौं ।’

तपाईको प्रतिक्रिया