वीरगञ्जमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु

  बैशाख १३, २०७८

वीरगञ्ज, वैशाख १३ : पर्साको वीरगञ्जमा सोमबार थप एक कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ आदर्शनगरका ६० वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको हो ।

निमोनियाबाट ग्रसित ती पुरुषको वैशाख २ गते पिसिआर परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो भने स्वास्थ्यमा समस्या आएपछि ती संक्रमित पुरुषलाई वैशाख ३ गते उपचारको लागि नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।

नारायणी अस्पतालका कोभिड कोर्डिनेटर डा. सरोज रोशन दासका अनुसार वैशाख ३ गतेदेखि नारायणी अस्पतालमै उपचार गराई रहनु भएका उक्त संक्रमित पुरुषको सोमबार बिहान साढे ९ बजे उपचारकोक्रमा मृत्यु भएको हो ।

डा. दासका अनुसार दुवै फोक्सोमा गम्भीर किसिमको निमोनिया देखिएको र निमोनियाका कारण श्वासवास प्रश्वासमा समस्या भएपछि हृदयाघातबाट ती संक्रमित पुरुषको मृत्यु भएको हो । डा. दासले भन्नु भयो- ’निमोनियाले फोक्सोमा धेरै असर पारेको रहेछ, हामीले धेरै प्रयास गर्दापनि उहाँलाई बचाउन सकेनौं । अन्तमा हृदयघातबाट ज्यान गयो’

कोरोनाको दोश्रो लहर सुरु भएयता वीरगञ्जका विभिन्न अस्पतालमा १२ जना कोरोना संक्रमितहरुको उपचारकोक्रममा मृत्यु भएको छ । उपचारकोक्रममा वीरगञ्जको नारायणी अस्पतालमा ९ जना , नारायणी बयोधा अस्पतालमा २ जना र गण्डक अस्पतालमा १ जनाको मृत्यु भएको हो । कोरोना संक्रमणको कारण मृत्यु भएका १२ जनामध्ये पर्साका ९ जना, बाराका २ र सर्लाहीका १ जना रहेका छन् भने पर्साका अन्य १ जनाको उपचारकोक्रममा चितवनमा मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया